काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा कास्की प्रहरी हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी छ ।
जिल्ला अदालत कास्कीमा आज दोस्रो दिनको बयान भइरहेको हो । हिजोको बयानमा न्यायाधीश राईसँग लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता इन्कार गर्नुभएको छ ।
अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा आफ्नो संलग्न नरहेको अदालत सामु दाबी गर्नुभएको हो । अदालतले प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिएको हो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरण कसुर अभियोगमा हिजो उहाँको बयान नसकिएकाले आज पनि लिइएको हो । यस अघि गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको थियो भने रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।
सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।