काभ्रेमा विपद्को मुख्य कारक मापदण्डविपरीतका क्रसर र खानी उद्योग, नियमनमा सरकारको बेवास्ता

आश्विन २३, २०८१ |पुजन धिताल|विकास आचार्य
काभ्रेमा विपद्को मुख्य कारक मापदण्डविपरीतका क्रसर र खानी उद्योग, नियमनमा सरकारको बेवास्ता

काठमाडौं । असोज ११ र १२ गतेको बाढी र पहिरोले धेरै क्षती हुने जिल्लामा पर्छ- काभ्रे । मण्डन देउपुर, बनेपा, पनौती, बेथानचोक, नमोबुद्ध, धुलिखेल र रोशीमा बाढी र पहिरोले ७८ जनाको त ज्यान नै लियो भने खर्बौंको सम्पत्ति नष्ट भयो । १३ स्थानीय तहमध्ये सात वटा बाढीपहिरोको चपेटामा छन् । काभ्रे यति ठूलो क्षति हुनुको प्रमुख कारण मापदण्डविपरीत सञ्चालित नदीजन्य खानी उद्योग नै भएको दाबी स्थानीयको छ । तर, सरकार त्यो मान्न तयार छैन ।

काभ्रे चौकीडाँडाको यही स्थानमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको क्रसर उद्योग थियो । र यो भत्किएको घर पनि लामाकै हो । र यो चाहिँ काभ्रेको बेलकोटमा लामाको ढुंगा खानी उद्योग भएको स्थान । ११ र १२ गते रोशी खोलामा आएको बाढीले खानी मात्रै बगाएन, लामाको आफू बस्ने घरसहित स्थानीयका ६ वटा घर बगायो । त्यस्तै चौकीडाँडादेखि सिपाली हुँदै महाभारत गाउँपालिका जोड्ने पक्की पुल पनि बाँकी रहेन ।

रोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको आफ्नै नाममा क्रसर उद्योग नभए पनि क्रसरमा लगानी गरेको स्थानीयको दाबी छ । रोशी गाउँपालिकामा मात्रै एक दर्जन बढी साना ठूला उद्योग र दुई दर्जन बढी खानी छन् । तर अध्यक्ष र उपाध्यक्षनै खानी र क्रसरले क्षति पुर्याएको स्वीकार्दैनन् ।

काभ्रेमा मात्रै ३३ वटा क्रसर उद्योग छन् । ती मध्ये अधिकांश रोशी खोलामा छन् । त्यस्तै १ सय ५६ वटा खानी छन् । जसमध्ये ९६ वटा त ढुंगा खानी छन् । काभ्रेका स्थानीयसहित केही जनप्रतिनिधि मापदण्डविपरितका क्रसर र ढुंगा खानी र अवैज्ञानिक ढंगले बनाइएका सडकको ट्रयाकका कारण बाढी र पहिरोले क्षति पुर्याएको दाबी गर्छन् ।

खानी सञ्चालनको अनुमति दिने, अनुगमन गर्ने र कमी-कमजोरी भए कारबाहीसम्म गर्ने अख्तियारी भएको नियामक निकाय खानी तथा भूगर्भ विभाग खानीका कारणले रोशीमा क्षति नभएको भनेर पन्छिरहेको छ । क्रसर उद्योग सञ्चालकदेखि नियामक निकाय संघ मातहतको उद्योग विभाग, प्रदेश मातहतको उद्योग बाणिज्य विभाग र स्थानीय तह पनि देखेको नदेखेझैं गरिरहेका छन् । जसका कारण केही दिनमात्रै पनि वर्षा हुँदा मानिसको सर्वस्व बगाउने, क्षति हुने र विपत्ति निम्तिने स्थिति बनेको छ । यो विपत्तिबाट पाठ सिकेर सरकारले डाँडा र खेलाभित्रै ठूला मेसिन राखेर भएको उत्खनन् रोक्नुका साथसाथै मापदण्डविपरितका क्रसर र खानीलाई उद्योगलाई कारबाही गर्न सक्नुपर्छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।

Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।