यसपालीको दशैंमा यसकारण हुनसक्छ सुरक्षाचुनौती, कसरी अपनाउने सावधानी ?

आश्विन २०, २०८१ |रमेश धमला
यसपालीको दशैंमा यसकारण हुनसक्छ सुरक्षाचुनौती, कसरी अपनाउने सावधानी ?

काठमाडौं । चाडबाडको मुखैमा गएको बाढी र पहिरोले यस वर्षको दशैंमा धेरैको यात्रा कठिन हुने देखिएको छ । स्थिति जस्तो भए पनि परम्परा अनुसार पर्व मनाउनु पर्ने छ । यही अप्ठेरो र पर्वलाई आपराधिक समूहले भने मौका बनाउन सक्छन् । त्यसैले प्रहरीले नागरिकको सुरक्षाका लागि देशैभर चाडबाडलक्षित सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाटदेखि जघन्य अपराधसम्मलाई मध्यनजर गर्दै लागू भएको योजना कार्यान्वयनका लागि प्रहरीले आफ्ना कर्मचारीको बिदासमेत कटौती गरेको छ।

चाडवाडको समयमा काठमाडौंबाट करिब १८ लाख मानिस बाहिरिने आंकलन गरेर सुरक्षा योजना बनाएको प्रहरीले आफ्नो रणनीति परिवर्तन गरेको छ । दशैंको मुखैमा गएको बाढी र पहिरोले राजमार्गको यात्रा सहज नहुने र कतिपय बाढीपीडित भएकाले दशैं मनाउन गाँउ फर्किनेहरु कम हुन सक्ने प्रहरीको अनुमान छ । विगतमा दशैंमा चोरी, आर्थिक कारोवार हुने स्थानमा डकैती तथा ठगीको घटना हुन सक्ने आकलनमा सुरक्षा योजना लागू हुने गरेको थियो । 

यस वर्ष काठमाडौंमै बस्नेहरुको संख्या बढी हुने देखिएपछि चोरी र ठगीसँगै मादक पदार्थ सेवन गरेर जघन्य अपराध निम्तिन सक्ने तथा सामाजिक सद्भाव विथोल्न खोज्ने समूह सक्रिय हुन सक्नेतर्फ प्रहरी सचेत देखिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि चोरीमा जेल संजाय भोगेर निस्किएकाहरुको सूची बनाएको छ भने मन्दिरहरुमा हुन सक्ने चोरी, लुटपाट रोक्न सादापोशाकमा निगरानी बढाउने छ । गत वर्ष भन्दा यस वर्ष जटिलता थपिनसक्ने अनुमानमा जनशक्तिसमेत थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंले पनि ठाउँमा ठाउँमा चेक प्वाइन्ट राखेको छ । टिकटमा हुने कालोबजारी, ठगी, जुवा र तासको बहानामा हुने झगडा तथा सुनका गहना लुटपाट हुन सक्नेतर्फ प्रहरी बढी सचेत देखिएको छ । आफन्तको घरमा टिका लगाउन जाँदा महंगा गहना नलगाउन, घर खाली गरेर जाने भए प्रहरी अथवा छिमेकीलाई खबर गर्न, डलर साटने तथा घरमै आएर प्रलोभन देखाएर ठगी गर्ने जस्ता समूह पनि यही बेला सक्रिय हुने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ । एक वर्षमा देशैभर चोरीका मात्रै ३ हजार ७ सय ५८ घटना भएका छन् । काठमाडौंमा मात्रै ३५ सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन भएका छन ।

चाडवाड र अप्ठेरो परिस्थितिमा मौका बनाएर अपराध गर्नेदेखि व्यक्ति स्वयम् पनि सचेत हुन जरुरी छ । अन्जान व्यक्ति घरवरिपरी देखिए चासो राख्नु पर्छ । प्रहरीले पनि योजना ल्याएर मात्रै पुग्दैन प्रभावकारी कार्यान्वयन सबैभन्दा महत्वपूर्ण पक्ष हो ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement