काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्कने उपयुक्त समयको पर्खाईमा हुनुहुन्छ भन्ने कुरा उहाँका पछिल्ला अभिव्यक्तिले देखाएका छन् । शीतलनिवासबाट बाहिरिएलगत्तै पूर्वराष्ट्रपति भण्डारीले एमालेका औपचारिक कार्यक्रममा सहभागी हुँदै आउनु भएको छ । मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा शनिबार ‘नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बन्नुपर्ने’ धारणा राखेसँगै उहाँ फेरि चर्चामा हुनुहुन्छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बन्नु्पर्ने मात्रै भन्नुभएन, चुनावपछि एमालेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै पद पाओस् भन्दै शुभकामना पनि दिनुभयो ।
राष्ट्रको सर्वोच्च पदमा पुग्नुअघि एमालेको उपाध्यक्ष रहनु भएका भण्डारीको एमालेप्रतिको सदासयता यो पहिलो होइन । गत बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सवका अवसरमा एमालेले भण्डारीलाई गणतन्त्र गौरबबाट सम्मान गर्यो । सोही दिन उहाँले वामपन्थी दलहरूलाई मिल्न सुझाव दिनुभएको थियो । त्यसपछि पनि मनमोहन अधिकारी प्रतिष्ठानले गरेको कार्यक्रमदेखि एमालेकै जनसंगठन समन्वय संयन्त्रले ०८१ जेठ १६ गते गरेको कार्यक्रममा पनि उहाँ नै प्रमुख अतिथि हुनुहुन्थ्यो ।
यसले के देखाउँछ भने भण्डारी एमाले राजनीतिमा पूर्ण रुपमा फर्किन उपयुक्त समयको पर्खाईमा हुनुहुन्छ । त्यो समय कहिले हो त रु सम्भवत त्यो समय आगामी ११ औं महाधिवेशन हुन सक्छ ।
भण्डारी राजनीतिमा फर्किनु पर्ने र फर्किन नहुने गरि एमालेमा दुई मत छन् । हाल एमालेमा अध्यक्ष ओली शक्तिशाली रहेको हुँदा भण्डारी पार्टी राजनीतिमा फर्किनुपर्छ भन्ने स्वर कमजोर छ । तथापी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छबिलाल विश्वकर्मा लगायतका नेताहरुले भण्डारीको पक्षमा लविइङ गर्दै आएका छन् ।
महासचिव शंकर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाहेकका पदाधिकारीहरु ओली वा भण्डारी भनेर खुलिनसकेका भए पनि ओलीको विकल्पका बारेमा चर्चा गर्न थालिसकेका छन् । तर, भण्डारीको एमाले पुनरागमनको साँचो भने अध्यक्ष ओलीसँगै छ । ओली आगामी महाधिवेशनबाट पुन अध्यक्ष बन्ने दौडमा लाग्नु भयो भने भण्डारीको कमब्याक जटिल बन्ने विश्लेषण राजनीतिक विश्लेषकहरुको छ ।
एमालेकै नेताहरुका अनुसार भण्डारीले सदस्यता नवीकरण गराईसक्नु भएको हुँदा उहाँ एमालेमा स्पेसको खोजीमा हुनुहुन्छ । एमालेभित्र भण्डारीले मन्त्रीदेखि राजदूत तथा प्रदेशदेखि जिल्लाको नेतृत्वसम्ममा भाग पाउन थालिसक्नु भएको नेताहरुको दाबी छ ।