काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जोशीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
गत माघमा जोशीको शंखमूलस्थित घरबाट प्रहरीले छापा मारी पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको थियो । यद्यपि जोशीले आफू सहकारीको रकम अपचलनमा संलग्न नहरेको दाबी गर्दै आउनु भएको थियो ।
जोशीको घरमा सहकारीको रकम ठगी आरोपमा फरार रहेका जीबी राईको नेचर हर्ब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो । त्यहीँबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जोशीको घरमा छापा मारेको थियो ।
अहिले कास्की प्रहरीकै आग्रहमा काठमाडौं प्रहरीले जोशीलाई पक्राउ गरेको हो । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहरकारीको रकम अपचलन गरेको सम्बन्धमा संसदीय विशेष समितिले जोशीलाई समेत कारबाहीको सिफारिस गरेको छ ।