मोरङ र सप्तरीका बाढीपीडित पालमुनि

असार १३, २०८१ |आरएन विश्वास|सुशीला पाठक
मोरङ र सप्तरीका बाढीपीडित पालमुनि

सप्तरी । मोरङ र सप्तरीमा बुधबारको मुसलधारे वर्षासँगै विभिन्न खोला-नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको विचल्ली भएको छ । डुबानमा परेका घरमा अझै पानी न‌ओभाएकाले पीडित परिवार अग्लो स्थानमा त्रिपालमुनि बस्न बाध्य छन् ।

मोरङको विराटनगर उपमहानगरपालिका ८, सुकुम्बासी टोलका मक्तार खानको घरमा बुधबार बाढी पसेपछि अहिले उहाँसहित १३ सुकुम्बासी परिवार घर छाडेर अग्लो स्थानमा त्रिपालमूनि बसिरहनुभएको छ । तर उहाँहरुले के खानुभयो ? कसरी बस्नु भएको छ ? भनेर सोधखोज कतैबाट भएको छैन ।

यस्तै सप्तरीको रुपनी गाउँपालिका १ का दर्पी डोमले जीविकोपार्जन गर्ने उद्देश्यले व्यवसायका लागि खरिद गर्नुभएको चारवटा बँगुर बाढीमा बगेपछि उहाँको रोजगार नै खोसिएको दुखेसो व्यक्त गर्नुभयो ।

विराटनगरजस्तै सप्तरी सदरमुकाम राजविराजसहित ६ वटा स्थानीय तह बाढीबाट प्रभावित भएको हो । बाढीबाट प्रभावित भएकाहरुलाई पालिकाले खानेकुरा सहयोग गरेको र थप सहयोग गर्ने तयारी रहेको रुपनी गाउँपालिका सप्तरीका प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादव बताउनुहुन्छ ।

हुन त सप्तरीको १८ वटै स्थानीय तह बाढीको उच्च जोखिममा छ । अहिले बलान बिहुल गाउँपालिकास्थित बलान खोलाले तटबन्ध भत्काएपछि थप जोखिम बढेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डीराज न्यौपानेको भनाइ छ ।

सप्तरीमा खाँडो, बलान, जिता, महुली, टेंग्राजस्ता खोलाहरुले सताउने गर्छन् । तर समयअगावै यी खोलाहरुमा तीनै तहका सरकारबाट तटबन्ध निर्माणको काम नहुँदा अहिले भने पीडा नागरिकलाई सहनुपरेको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement