केपी ओलीलाई बालेनको चेतावनी, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला’

ओलीलाई मेयर भन्नुहुन्छ– ‘हुन त पहिले पनि जेल बस्नु भएको हो’
गिरीबन्धु जग्गाको बैना तत्काल फिर्ता गर्न चेतावनी
जेष्ठ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
केपी ओलीलाई बालेनको चेतावनी, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला’

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु प्रकरणमा जनतालाई नझुक्क्याउन आग्रह गर्नु भएको छ ।

अध्यक्ष ओलीले झापाको गिरिबन्धुमा बैना लिनेहरूलाई ‘‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’’ भनेको उल्लेख गर्दै मेयर बालेनले ओलीलाई जनता नझुक्क्याउन आग्रह गर्नु भएको छ । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

ओलीले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फूटपाथ फेरी सडक बनाउन थालेको आरोप मेयर शाहाले लगाउनुभएको छ ।

‘अब बल्ल देश बन्ने भएछ, मेयर शाहले व्यङ्ग्य गर्दै भन्नु भएको छ, ‘आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल, चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।’

अन्त्यमा बालेनले भन्नु भएको छ, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.