महोत्तरीको बनराका सुकुम्वासीले ७० वर्षदेखि भोगचलन गर्दै आएको ४५ विगाह जग्गामा पहुँचवालाको हालीमुहाली

प्रधानमन्त्रीको निर्देशनको बेवास्ता, मन्त्रालय भन्छ- थाहै छैन
चैत्र ७, २०८० |अनिल मिश्र
महोत्तरीको बनराका सुकुम्वासीले ७० वर्षदेखि भोगचलन गर्दै आएको ४५ विगाह जग्गामा पहुँचवालाको हालीमुहाली

महोत्तरी । मधेश प्रदेशको महोत्तरीमा एउटा यस्तो गाउँ छ, जहाँ पुस्तैनी बसोबास र भोगचलन गर्नेहरूको भन्दा जग्गाको स्वामित्व अर्कैको नाममा छ । थातथलोबाट उठीबासको चिन्ताले २५ वर्षदेखि सताइरहे पनि समस्या समाधान त के अहिलेसम्म कुनै पहल नै भएको छैन । पीडित सुकुम्वासीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाए पनि अहिलेसम्म कुनै सुनवाइ भएको छैन ।

२०११ सालदेखि जोतकोर र बसोबास गर्दै आएका याहँका १२ सयभन्दा बढी सुकुम्वासीमा पुस्तैनी जग्गाबाट उठीबासको चिन्ता छ । सुकुम्वासी आयोगका पदाधिकारीले चलखेल गरेर २५ वर्ष अघि पुरा बस्तीका ४५ बिघा जग्गाको लालपुर्जा पावर र पहुँच भएका व्यक्तिहरूको नाममा बनाइदिएपछि यिनीहरूमा थातथलो गुम्ने चिन्ता छ । 

सुकुम्वासी समस्या समाधान गर्नका लागि गठित आयोगका पदाधिकारीले २०५४ सालमा महोत्तरीको मात्र नभई वीरगन्ज र भोजपुरका समेत गैर सुकुम्वासीहरूको नाममा लालपुर्जा बनाइदिएको हो । लालपुर्जा पाएकाहरूलाई भने महोत्तरीको थारु टोल बनराबासीले चिन्दैनन् । पुस्तैनी भोग चलन गर्दै आएको जग्गा प्राप्तिका लागि याहँका स्थानीय सदरमुकाम जलेश्वरमा मात्र नभई संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलासम्म पुगेर प्रदर्शन गरेपनि अहिलेसम्म कुनै सुनवाई भएको छैन ।

२५ वर्षदेखि न्याय माग गर्दै आन्दोलित सुकुम्वासीहरूको समस्या कुनै निकायले नसुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुहार मागेका छन् । महोत्तरीको भंगहा थारु टोल बनराको समस्या समाधानका लागि सत्य तथ्य बुझ्न प्रधानमन्त्री दाहालले एक महिनाअघि निर्देशन दिएपनि अहिलेसम्म कुनै प्रगति भएको छैन । 

सुकुम्वासीले काठमाडौ पुगे पनि न्याय पाउन सकेका छैनन् । त्यसो त यसविषयमा जनप्रतिनिधि पनि मौन छन् । पीडितहरूले उजुरी दिएको लामो समय बितिसके पनि छानबिन त कता हो कता स्थानीय प्रशासन पनि अहिले कागजात मांग्नै मै सीमित छ । 

गैरकानुनी रूपमा जारी गरिएको लालपुर्जा तुरुन्त खारेज गर्नुपर्ने, उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीलाई कारबाही गरिनुपर्ने, जग्गा प्राप्त गर्ने गैर सुकुम्वासी विरुद्ध जाँचबुझ गरी कारबाही गरिनुपर्ने र बनराका साबिक स्थानीय वासीका नाममा घरजग्गा गर्नुपर्ने यिनीहरूको माग छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।