लुम्बिनी प्रदेशमा ७ महिनामै सवारी दुर्घटनामा २९१ जनाको मृत्यु

सडकको दुरावस्था र चालकको लापरबाही मुख्य कारण
फाल्गुन ४, २०८० |अमृता अनमोल|भुवन पाण्डे
लुम्बिनी प्रदेशमा ७ महिनामै सवारी दुर्घटनामा २९१ जनाको मृत्यु

बुटवल । सवारी दुर्घटना रोक्न प्रहरीले दिनहुजसो सचेतना अभियान चलाएको छ । तर, सवारी दुर्घटना कम हुनु साटो बढ्दै गएका छन् । चालक जिम्मेवार र राज्यबाट प्रभावकारी अनुगमन र व्यवस्थापन नहुँदा दुर्घटनाले धनजनको क्षति हुने क्रम भने बढ्दै गएको छ । 

गत तीन दिनमा पाल्पा, कपिलवस्तु र दाङमा गरी २२ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकामा बिहीबार राति १ बजे भएको दुर्घटनामा १० जनाको मृत्यु भयो । ३० जना घाइते भए । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको उक्त बस तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

१० जनाको सिट क्षमता भएको जिपले २७ यात्रु बोकेर गुड्दा फागुन १ गते पाल्पामा जिप दुर्घटना भयो । उक्त दुर्घटनामा १० जनाले ज्यान गुमाए भने १७ जना घाइते भए । पहाडी कच्ची बाटो तिनाउ गाउँपालिका मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेक डाँडामा दुर्घटनामा परेको थियो । 

फागुन २ गते दाङमा पिकअप गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट चालु आर्थिक वर्षमा २ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो पाँच वर्षमा १२ जिल्लाका २ हजार ८ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटना विश्लेषण अनुसार करिब ५० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । यसपछि सवारी, सडक, यात्रु र प्रहरीको फितलो अनुगमनका कारणले दुर्घटना भएका छन् ।

अधिकांश दुर्घटना नजानेरै भएको भन्दै चालकलाई निकै कम सजाय हुने गरेको छ । यसले चालकहरू लापरवाह हुने र यौटै व्यक्ति वा साधन पटक पटक दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटनालाई भयावह हुन नदिन चालकलाई जिम्मेवार र सचेत बनाउने अभियान जरुरी छ ।

राज्यले चालकसँगै ट्राफिक प्रहरी, सडक तथा यातायात कार्यालय, र यातायात व्यवसायी पाँचै पक्षलाई जिम्मेवार बनाउन सवारी र सडक अनुगमन र व्यवस्थापन पनि चुस्त बनाउनुपर्छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।

Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।