डडेलधुरा । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, डडेलधुरा, बझाङ र डोटीबाट भारत आवतजावत गर्ने सीमावर्ती झुलाघाटमा पक्की पुलको सपना बाँडिएको चार दशक भयो । तर अहिलेसम्म पनि झोलुंगे पुलकै भरमा त्यहाँका बासिन्दा भारत आउने जाने गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको अघिल्लो भारत भ्रमणमा पनि डडेलधुराको परिगाउँ र बैतडीको झुलाघाटमा पुल बनाउने सहमति भएको थियो । झुलाघाट मात्रै होइन सुदूरपश्चिम डडेलधुरा र बैतडीका सीमावर्ती दर्जनौँ ठाउँका स्थानीय काठेडुंगाकै भरमा भारत आवतजावत गर्न बाध्य छन् ।
पश्चिम नेपालको बैतडीसँग जोडिएको यो सीमा क्षेत्रमा पक्की पुल बनाउने भन्दै हरेक निर्वाचनमा ठुलै चुनावी मुद्दा बन्ने गर्छ । हरेक पटक नेपालका प्रधानमन्त्री भारत पुग्दा होस् या कुनै अन्य नेता भारत पुग्दा बैतडीका बासिन्दाको पहिलो माग नै झुलाघाटनमा पक्की पुल बनाउनुपर्छ भन्ने हुन्छ । तर पटकपटक सरकारले आश्वासन दिए पनि चार दशकदेखि माग पूरा भएको छैन ।
भारतसँग पश्चिमका पहाडी जिल्लाका सहज पहुँच पुग्ने महाकाली नदी झुलाघाटमा वर्षौं पुरानो झोलुंगे पुल छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल भारत पुग्दा पनि झुलाघाटमा पुल बनाउने सम्झौता भएको थियो । झुलाघाटमा पुल बन्ने विषय हरेक चुनावमा मुख्य मुद्दा बन्छ । तर ४ दशकदेखि यो चर्चामै सीमित रहेको सुदूरपश्चिम प्रदेशकी पूर्वमन्त्री माया भट्ट बताउँछिन् ।
भारत आवतजावत गर्ने सीमावर्ती नदी महाकालीमा पुल नभएका कारण भित्री मधेश क्षेत्रका जोगबुढा, आलिताल, शीर्ष र रुपालका बासिन्दाले ट्युब र काठे डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दैनिक उपभोग्य वस्तु खरिददेखि रोजगारीका लागि भारत जाने व्यक्ति पुल नभएकै कारण आफ्नो ज्यान जोखिममा राखेर आवतजावत गरिरहेका छन् । पुल अभावकै कारण बर्सेनि ३/४ जनाले ज्यान गुमाइरहेका छन् । पारि भारततिर कुमाउनी, चुका, टनकपुरलगायत बजार छन् ।
डडेलधुरा जिल्लाकै ६० हजारभन्दा बढी जनसङ्ख्या रहेको जोगबुढा, आलिताल, शीर्ष र रुपातालका क्षेत्रको महाकाली नदीसँग भारतको सिमानामा कुनै पनि पुल छैनन् । महाकाली नदी तर्न खोज्दा पाँच वर्षमा १५ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्ला एक दशकयता सरकारले महाकाली नदीमा चारवटा पुल बनाउने घोषणा गरे पनि प्रगति शून्य छ । डडेलधुरा र बैतडीका आधा दर्जन ठाउँबाट महाकाली नदीमा स्थानीय बासिन्दा ट्युब र काठेडुंगामा आवतजावत गर्न बाध्य रहेको पर्शुराम नगरपालिका डडेलधुराका शेरसिंह माल बताउँछन् । पाँच वर्ष पहिले सरकारले नेपाल-भारत जोड्न पुल निर्माण गर्ने भन्दै सर्भेसमेत गराए पनि त्यसको काम अघि बढेको छैन ।
महाकाली आवतजावत गर्नेको सङ्ख्या धेरै भएकै कारण कम क्षमता भएका काठे डुंगामा जोखिम मोलेर २५/३० जना एकैपटक चढ्न बाध्य छन् ।