डाक्टर उत्पादन गर्दै कर्णाली

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न तहमा ३५० विद्यार्थी अध्ययनरत
माघ १६, २०८० |एलपी देवकोटा
डाक्टर उत्पादन गर्दै कर्णाली

जुम्ला । कुनै बेला पोस्टमार्टमका गर्न पनि डाक्टर नपाउने कर्णालीले अहिले आफैंले डाक्टर उत्पादन गरिरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामै एमबीबीएस डाक्टर उत्पादन गरिरहेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको १० वर्षपछि एमबीबीएस डाक्टर पढाउने अनुमति पायो । पहिलो र दोस्रो वर्षमा २० वटा कोटा मात्रै पाएको प्रतिष्ठानले यस वर्ष ५० डाक्टर पढाउने अनुमति पाएको छ । यस वर्ष भारतबाट समेत तीन विद्यार्थी डाक्टर पढ्न जुम्ला आएको प्रतिष्ठानका उपकुलपति मंगल रावलले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्र, स्कुल अफ नर्सिङ, स्कुल अफ पब्लिक हेल्थ, फार्मेसी तर्फका स्नातक र स्नातकोत्तर तह गरी ३५० विद्यार्थी अध्ययनरत छन् भने एक सयभन्दा धेरै विशेषज्ञ शिक्षक चिकित्सक छन् ।

अब डाक्टरी पढ्नकै लागि काठमाडौंलगायत सहर जानुपर्ने अवस्था अन्त्य मात्रै भएको छैन कर्णालीको स्वास्थ्य अवस्थामा थप सुधार हुने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् । अहिले मेडिकल शिक्षा पढ्नेहरुको रोजाइ जुम्ला हुन थालेको छ ।

कर्णालीका बासिन्दाको आफ्नै ठाउँमा डाक्टरी पढाइ गर्ने सपना पूरा भए पनि प्रतिष्ठानलाई आत्मनिर्भर बनाउनतर्फ सबैले ध्यानदिन जरुरी छ । पिछडिएको क्षेत्रमा स्वास्थ्यसम्बन्धी शिक्षा, सेवा र अनुसन्धान मुख्य लक्ष्य लिएर स्थापना भएको प्रतिष्ठानले सरकारबाट पर्याप्त बजेट पाउन सकेको छैन । आफ्नै भौतिक संरचना प्राप्त नहुँदा भाडाका घरमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रतिष्ठानका राजिस्ट्रार नृपेन्द्र महतको भनाइ छ ।

यति ठूलो संस्था स्थापना हुनु र तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनमा आउनु कर्णालीजस्तो पिछडिएको क्षेत्रको विकासको कोसेढुंगा हो ।


Image

एलपी देवकोटा

देवकोटा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।