बिरानो मुलुकमा आमा हराएपछि...

पीडामा परिवार
माघ १४, २०८० |कमला पाख्रिन
बिरानो मुलुकमा आमा हराएपछि...

सिन्धुपाल्चोक । परिवारको आशा र भरोसा रहेको व्यक्ति बिरानो मुलुकमा पुगेर हरायो भने परिवालाई कति पीर पर्छ होला ? रोजगारीको खोजीमा खाडी मुलुक पुगेर बेपत्ता भएकाहरुको परिवार यस्तै पीडामा छन् । ओमन, मलेसिया, यूएई, कतार, कीर्गिस्तान, कुवेत, साउदी अरेबिया, सिरिया, लेबनानलगायत देशमा घरेलु कामदार भिसामा गएका सिन्धुपाल्चोकका महिला वर्षौंदेखि परिवारको सम्पर्कमा नआउँदा उनीहरुका परिवार पीडादायी पर्खाइमा छन् ।

१८ वर्षअघि कुवेत गएकी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १, बसेरीकी सोममाया तामाङ त्यसयता परिवारको सम्पर्कमा छैनन् । छोरा कुमारले खोज्न निकै कसरत गरे पनि सोममायाको कुनै खबर पाउन सकेनन् । आमाको खोजीका लागि कुमार कुवेत पनि पुगे । नेपाली दूतावास, माइती नेपाल तथा वैदेशिक रोजगार विभागमा धाइरहे पनि सोममाया पत्ता लाग्न सकेकी छैनन् । नेपाल एम्बेसीको रेकर्डमा सोममाया कुवेत प्रवेश गरेको पाइएको छ तर, अवस्था अज्ञात छ ।

घरेलु काममै कुवेत गएकी चौतारा बतासे ३ की पासाङ ल्हामु तामाङ पाँच महिनादेखि सम्पर्कविहीन छिन् । आमाको खोजी गरिदिन्छु भन्दै उनकी छोरीसँग दलालले ४० हजार रुपैयाँ ठगिसके तर पत्तो लागेको छैन । परिवारको भविष्य उज्ज्वल बनाउने सपना देखेर वैदेशिक रोजगारीमा गएकी आमा पासाङ बेपत्ता भएपछि छोरी सिर्जना खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय धाइरहेकी छिन् ।

वैदेशिक रोजगारीमा धेरै महिलाहरू जाने जिल्लामध्ये सिन्धुपाल्चोक अग्रस्थानमा पर्छ । वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) का अनुसार पछिल्लो दुई वर्षमा वैदेशिक रोजगारका नाममा विभिन्न मुलुक पुगेर सम्पर्क बाहिर रहेका ७७ वटा घटना दर्ता भएका छन् । वैदेशिक रोजगार विभाग, मानव बेचबिखन अनुसन्धान ब्युरोले २३ जनाको खोजी तथा उद्धार गरेको छ भने ५४ जनाको अवस्था अझै थाहा हुन नसकेको सामीकी परामर्शकर्ता निर्मला श्रेष्ठले जनाइन् ।

विदेश गएका आफन्त घर फर्कने आशामा बेपत्ता परिवारका सदस्य खोजी गरिदिन विभिन्न निकायमा धाइरहेका छन् । उनीहरुको अवस्था पत्ता नलाग्दा पीडित परिवारको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।