भूकम्पपीडितको त्रिपालकै बास

केही पीडित जोखिम मोलेरै पनि चर्किएकै घरमा बस्न बाध्य
पुस २९, २०८० |सरोज वली
भूकम्पपीडितको त्रिपालकै बास

जाजरकोट । भूकम्प गएको साढे दुई महिना हुनै लाग्दा पनि जाजरकोटमा ९ हजार ६ सय ३८ वटा मात्रै अस्थायी आवास निर्माण भएका छन् । संघ तथा स्थानीय सरकार, विभिन्न संघ-संस्था, तथा राजनीतिक दलका तर्फबाट उक्त आवास बनेका हुन् ।

सरकारले मंसिरभित्रै भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन पहिलो किस्ताको रकम वितरण गरिसक्ने भने पनि सबैले पाएका छैनन् । जाजरकोटमा मात्रै लाभग्राहीको संख्या ३५ हजार १ सय ४० कायम भएको छ । जसमा हालसम्म २७ हजार १३२ ले पहिलो किस्ताका लागि सम्बन्धित पालिकामा सम्झौता गरेका छन् । तीमध्ये जिल्लाका सातैवटा स्थानीय तहमा गरी २१ हजार ४ सय ४४ जनाले पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ पाएका छन् । ८ हजार ८ जना लाभग्राहीसँग त सम्झौता हुनै बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए ।

‘प्रोसिड्युरल कुराले पनि ढिला भएको अवस्था छ । हामीले लाभग्राहीको खातामा चाँडोभन्दा चाँडो पैसा पठाउनुपर्‍यो भनेर ताकेता गरिरहेका छौं,’ उनले भने ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले आफूहरुले लाभग्राहीका खातामा २५ हजार रुपैयाँका दरले रकम पठाइसकेको बताउँछन् । उनी भन्छन्, ‘लाभग्राहीका खातामा २५ हजारका दरले पैसा पठाइसकेका छौं । आज नगर सभा सकियो, भोलिदेखि नै अनुगमन गरेर दोस्रो किस्ता पठाउनमा सहजीकरण गर्छौं ।’

जिल्ला विपत् व्यवस्थापन समितिले पहिलो किस्ताबापतको ८४ करोड ९५ लाख ७५ हजार रुपैयाँ सम्बन्धित पालिकाको स्थानीय विपत् व्यवस्थापन खातामा पठाइसकेको छ । तर लाभग्राही पहिचानलगायत विषयमा स्थानीय तह गम्भीर नबन्दा कतिपय भूकम्पपीडितहरुमध्ये हिउँदमा पनि त्रिपालकै बासमा छन् भने केही जोखिम मोलेर चर्केकै घरमा फर्केका छन् ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।