खुलामञ्च मासेर खेलमैदान बनाउने तयारीमा महानगर

पुस २७, २०८० |श्रृजना बास्तोला
खुलामञ्च मासेर खेलमैदान बनाउने तयारीमा महानगर

काठमाडौं । काठमाडौंमा खुला सार्वजनिक स्थल निकै कम छन् । २०७२ को भूकम्पपछि त खुला स्थानको महत्त्व झन् बढ्यो । सोही कारण खुला स्थानलाई संरक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ । तर, काठमाडौं महानगरपालिका भने यस्ता खुला स्थल व्यक्ति तथा संस्था हरूलाई जिम्मा लगाउने तयारी गर्दै छ । नागरिकले न्याय र स्वतन्त्रताका पक्षमा आवाज उठाउने थलो बन्दै आएको खुलामञ्चलाई महानगरले खेलमैदान बनाउने तयारी गरेको हो । 

काठमाडौं महानगरपालिकाले उपभोक्ता समितिमार्फत खुलामञ्चमा दुई वटा फुटबल ग्राउन्ड बनाउने तयारी गरेको छ । जसका लागि सहरी योजना आयोगले डीपीआर बनाइसकेको छ भने खेल सामाग्री र प्लास्टिकको दुबोका लागि क्रेट्स रिक्रियसन र सिल्क इनोभेसनसँग बोलपत्रसमेत माग गरिसकेको छ । 

करिब ५ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरका दुई वटा फुटबल ग्राउन्ड बनाइने र सुरुवाती चरणमा करिब १ करोडबाट काम सुरु गर्ने योजना बनाइएको महानगरले जनाएको छ । खुलामञ्च अतिक्रमणमा महानगरको यो पहिलो प्रयास भने होइन । यसअघि २०७३ देखि २०७८ सालसम्म बसपार्क राखिसकेको छ ।

चौतर्फी विरोधपछि २०७८ मा बसपार्क खुलामञ्चबाट त हट्यो तर सर्वसाधारणले अझै पहुँच पाएका छैनन् । बालेन्द्र शाहले प्रमुख हुनेबित्तिकै खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने योजना अघि सारे पनि स्थानीयको विरोधका कारण पछि हटेका थिए । अहिले फेरि महानगर खुलामञ्चलाई खेलमैदान बनाउन तम्सिएको छ ।

खेल मैदान बनाए पनि सर्वसाधारणको पहुँच नरोकिने महानगरको दाबी छ । तर यस्तै अभ्यास काठमाडौं महानगरपालिकाले २ वर्षअघि वडा नम्बर २६ स्थित ऐतिहासिक लैनचौरमा गरिसकेको छ । राजकुलोको पानी जम्मा गरेर भूमिगत पानी वितरण प्रणालीका लागि बनाइएको ऐतिहासिक पोखरी यतिबेला फुटसल केन्द्र बनेको छ ।

त्यहाँ बिहानदेखि बेलुकासम्मै सञ्चालन हुने फुटसलले लैनचौरको नामनिसान मेटिँदै छ । सार्वजनिक रूपमा सर्वसाधारण प्रवेश त गर्न पाउँछन् । तर यस चौरलाई अब अन्य हिसाबले प्रयोग गर्न सम्भव छैन ।

कुनै समय टुँडिखेल रानीपोखरीदेखि दशरथ रंगशालासम्मै फैलिएको थियो । विभिन्न कालखण्डमा यसमाथि अतिक्रमण भएर खुम्चँदै गयो । दशरथ रंगशाला, मिनि रंगशाला, सैनिक मञ्चमा बाँडियो ।

अब खुलामञ्च र टुँडिखेलका केही भाग सर्वसाधारणका लागि बाँकी छन् । त्यसमा पनि खुलामञ्चमा सर्वसाधारणले प्रवेश गर्न नपाएको २ वर्ष भयो । बचेखुचेका सार्वजनिक स्थल संरक्षण गर्नुपर्नेमा उल्टै महानगर खुलामञ्चजस्ता खुल्ला स्थलको अस्तित्व मेटाउने प्रयासमा रहेको छ ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement