लमजुङमा फुड पोइजनका कारण एकको मृत्यु, २५ जना बिरामी

मंसिर २४, २०८० |आश गुरुङ
लमजुङमा फुड पोइजनका कारण एकको मृत्यु, २५ जना बिरामी

लमजुङ । लमजुङमा फुड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । अन्य २५ जना बिरामी परेका छन् ।

सुन्दरबजार नगरपालिका ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमध्ये पुरानोकोट घर भई सुन्दरबजार नपा– ९ बस्ने ३२ वर्षीय देवी परियारको मृत्यु भएको हो । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामूहिक भोजमा सहभागीहरु सुन्दरबजारस्थित एचडीसीएस नमूना सामूदायिक अस्पताल भर्ना भएका छन् । बिरामीमध्ये केहीलाई अन्यत्र रिफर गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

सुन्दरबजार ८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोजको आयोजना गरिएको थियो । सो भोजमा सहभागी करिब ४० जनामध्ये २५ जना फुड पोइजनका कारण अस्पताल भर्ना भइसकेको प्रहरीले जनाएको छ ।

भोजमा सहभागी सुन्दरबजार ८ र ९ का व्यक्तिहरु शनिबारदेखि नै बिरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरु अस्पताल पुगेका हुन् । भोजमा सहभागी व्यक्तिहरु अस्पताल आउने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ ।

अस्पताल आएका बिरामीहरुमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ । भोजमा सहभागीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको जानकारी दिए ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।