विपिन जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी

मंसिर ९, २०८० |कान्तिपुर टीभी संवाददाता
विपिन जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी

काठमाडौं । इजरायलसँगको युद्धविश्रामको दोस्रो दिन प्यालेस्टिनी लडाकु समूह हमासले आज थप १४ बन्धक रिहा गर्ने भएको छ। पहिलो दिन २४ बन्धक रिहा गरेको हमासले आज थप बन्धक रिहा गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै इजरायलले पनि थप ४२ प्यालेस्टिनी बन्दी रिहा गर्ने तयारी गरेको छ भने हमासले मुक्त गर्ने भनिएका थप बन्धकको सूचीबारे छलफल भइरहेको जनाएको छ ।

युद्धविश्रामको पहिलो दिन हिजो हमासले १३ इजरायली, १० थाइ र एक फिलिपिन नागरिकसहित २४ बन्धकलाई मुक्त गरेको अन्तर्राष्ट्रिय रेडक्रस जनाएको छ । मुक्त गरिएका इजरायलीमा महिला र बालबालिका छन् । पहिलो दिन इजरायलले भने ३९ प्यालेस्टिनी बन्दी रिहा गरेको थियो । कतारको मध्यस्थतामा युद्धरत इजरायल र हमासबीच चार दिनका लागि युद्धविश्राम भएको हो । यसअवधिमा हमासले ५० बन्धक र इजरायलले १ सय ५० प्यालेस्टिनी बन्दी रिहा गर्ने सम्झौता भएको हो ।

विपिनको रिहाइका लागि कूटनीतिक प्रयास जारी

हमासले बन्धक रिहा गर्ने दोस्रो सूचीमा समेत नेपाली नागरिक विपीन जोशीको नाम परे–नपरेको जानकारी आइनसकेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । तर, कूटनीतिक पहल र अन्तर्राष्ट्रिय संघ–संस्थाको सहयोगमा विपीन छिट्टै रिहा हुने विश्वास रहेको दूतावासको भनाइ छ ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले विपीनलाई प्राथमिकताका साथ छुटाउन कूटनीतिक पहल जारी रहेको जानकारी दिइन् । रिहा गरिनु केही अघिमात्र नाम सार्वजनिक गरिने भएकाले हमासले ४ दिनभित्र छाड्ने ५० जनाको सूचीमा विपीन परेको बारे पूर्वजानकारी नहुने राजदूत रिजालले बताइन् ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही हमास समूहले इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीसहित १२ सयभन्दा बढी मारिएका थिए । त्यसक्रममा हमासले नेपालका विपिन जोशीसहित २ सयभन्दा बढीलाई बन्धक बनाएर लगेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement