उल्लासका साथ मनाइयो गथांमुग: अर्थात् घण्टाकर्ण पर्व

असार ३०, २०८० |सुबिन्द्र श्रेष्ठ
उल्लासका साथ मनाइयो गथांमुग: अर्थात् घण्टाकर्ण पर्व

काठमाडौं । आज गथांमुग: अर्थात् घण्टाकर्ण पर्व । खासगरी रोपाइँ सकिएलगत्तै नेवार समुदायले भूतपिशाचले दु:ख नदेओस् र रोगव्याधि नलागोस् भन्ने कामना गर्दै परम्परागतरुपमा घण्टाकर्ण पर्व मनाउँछन् । यो पर्वसँगै काठमाडौं उपत्यकामा सांस्कृतिक जात्रा र पर्व सुरु हुन्छन् ।

हरियो नर्कट, निगालो, छ्वाली र परालमा पैंयुको हाँगा, धसिंगरे र उन्यू बाँधेर हाँडीको टाउको बनाई नाङ्लोमा मुखाकृति चित्रण गरी टोलटोलका दोबाटो र चौबाटोमा घण्टाकर्णको प्रतिक स्वरुप आकृति बनाइन्छ ।

तीनखुट्टा आकृतिको घण्टाकर्णमा कानमा घण्टा झुन्ड्याइन्छ । यसरी बनाइएको घण्टाकर्णलाई जगात् दे अर्थात् केही कर दे भन्दै बालबालिकाले डोरी टाँगेर बटुवासँग टोलैपिच्छे रकम माग्ने चलन छ । साना- साना बालबालिकाले कपडाका खेलौना र पुतली गथांमुग: लाई चढाउने गर्छन् । दिनभरि ठड्याएको गथांमुगलाई घाम अस्ताएपछि बाजागाजाका साथ छ्वालीकै राँको बालेर खोला किनारमा अन्त्येष्टि गर्ने चलन छ ।

बर्खायामको रोपाइँको काम सकिए लगत्तै रोग व्याधि नलागोस् भनेर घण्टाकर्ण पर्व मनाइन्छ । यसलाई नेवार समुदायको वर्षको पहिलो चाड मानिन्छ । भूतप्रेत आउन नदिन घरको मूलढोकामा त्रिखुट्टी किला ठोकी, पैंयुको मुन्टा सिउरिने गरिन्छ । यसै दिन फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । यो पर्वलाई तान्त्रिक विधि सिक्ने उत्तम दिनका रुपमा लिने गरिन्छ ।

परापूर्वकालमा घण्टाकर्ण नामको राक्षसले जनतालाई दुःख दिन थालेपछि एकजना तान्त्रिकले भ्यागुताको सहयोगमा उसलाई मारेको खुसियालीमा यो पर्व मनाउन थालिएको किंम्बदन्ती छ ।

राँको बालेर घण्टाकर्ण सेलाउन जाँदा त्यसको रापले धानको बोट र कलिलो बालामा लाग्ने किरा फट्याङ्ग्रा नष्ट हुने धार्मिक विश्वास छ । 


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।