इटहरी टिपर दुर्घटना अपडेट : उपचारार्थ युवतीको पनि मृत्यु

असार २०, २०८० |अर्जुन सुवेदी
इटहरी टिपर दुर्घटना अपडेट : उपचारार्थ युवतीको पनि मृत्यु

इटहरी । दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेश ट्राफिक प्रहरीले ट्राफिक सप्ताह मनाइरहँदा इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ ।

इटहरीको मुख्य चोकमा आमा र छोरी चढेको स्कुटरलाई मंगलबार दिउँसो टिपरले टक्कर दिएको थियो । कान्छाराम कन्ट्रक्सनको ना.१ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को.१४प ५२४ नम्बरको स्कुटरमा चढेका इटहरी ८ की ३९ वर्षीया सरिता चौधरी र उनकी २२ वर्षीया छोरी अनुष्काको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट आमा सरिताको घटनास्थलमै र छोरी अनुष्काको विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

            टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि इटहरी तनावग्रस्त

घटनापश्चात प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा मंगलबार साँझसम्म स्थिति तनावग्रस्त भएको थियो । ट्राफिक लाइट जडान भएको इटहरी मुख्य चोकमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपमा ९ जना प्रहरी घाइते भएका छन् । 

तनावग्रस्त स्थिति नियन्त्रणमा लिन साढे ३ घण्टा बढी समय खर्चिएको प्रहरीले आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।