बालगृहकै बालबालिका अधिकारबाट वञ्चित, पुगेन सरकारको ध्यान (भिडियो रिपोर्ट)

माघ १२, २०७९ |अश्विनी सिटौला|केदार शिवाकोटी
बालगृहकै बालबालिका अधिकारबाट वञ्चित, पुगेन सरकारको ध्यान (भिडियो रिपोर्ट)

दोलखा । विभिन्न कारणले अभिभावकविहीन भएका बालबालिकालाई आश्रय दिन भन्दै देशभर सरकारी र निजीस्तरबाट बालगृह खोलिएका छन् । तर यी बालगृहमा राखिएका बालबालिकाको उचित स्याहारसुसार र पालनपोषण भइरहेको छ कि छैन भन्ने बारेमा भने सरोकारवाला निकाय बेखबरजस्तै छन् ।

दोलखाको चरिकोटस्थित गौरीशंकर बालगृहमा रहेका बालबालिका भूकम्पले चिरा परेको भवनको चिसो भुइँमा रात काट्न बाध्य छन् । तर, बालबालिकाका लागि न्यानो कपडा, ओढ्ने ओछ्याउनेलगायतका सामग्री उपलब्ध गराउन सरकारले कुनै चासो देखाएको छैन । अधिकांश बालगृहको अवस्था यस्तै छ ।

‘२४ बालक छन् त्यहाँ । असुरक्षाका कारण बालिकाहरु राख्न सकिएको छैन । कम्पाउन्ड नहुँदा समस्या छ । विद्यालयमा पढ्न जान्छन् । त्यो आश्रय स्थल मात्रै हो । चिसोमा न्योनो कपडा, जुत्ता चप्पललगायतका सामानको आवश्यकता परिरहन्छ ।’ नेपाल बाल संगठन दोलखाका अध्यक्ष रामप्रसाद सापकोटाले भने ।

अघिल्लो आर्थिक वर्षसम्म ४३ वटा जिल्लामा ४ सय १७ बालगृह सञ्चालन भएको राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांक छ । यीनमा १० हजार ८ सय ५ जना बालबालिकाले आश्रय लिइरहेका छन् । बालगृहमा रहेका बालबालिका न्यानो कपडा र उचित आहारजस्ता आधारभूत आवश्यकताबाट वञ्चित भइरहँदा विभिन्न खाले दुर्व्यवहारको शिकार भएको, कुलतमा लाग्ने गरेकोजस्ता घटना पनि सार्वजनिक हुने गरेका छन् । परिषद् भने यस्ता बाल गृहको निरीक्षण र अनुगमन भइरहेको बताउाछ ।

बालबालिकालाई आश्रय दिन बालगृह सञ्चालन गर्नु सकारात्मक हो । तर बालबालिकाकाका न्यूनतम आधारभूत आवश्यकता पूरा भएका छन् कि छैनन्, तिनीहरुमाथि कस्तो व्यवहार भएका छन्, उचित पठनपाठनको अवसर पाएका छन् कि छैनन् भन्नेबारेमा भने जिम्मेवार निकायले निगरानी र अनुगमन गर्नुपर्ने देखिन्छ । 


Image

अश्विनी सिटौला

सिटौला कान्तिपुर टीभीमा कार्यरत छिन् ।

Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।