काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकचोटि फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।
कान्तिपुर टेलिभिजनको फायरसाइडमा पवन आचार्यसँगको अन्तवार्तामा दाहालले भने, ‘दुईचोटि मेरो प्रस्तावमा तपाई प्रधानमन्त्री हुनुभएको हो, एकचोटि फेरि भएर देखाउनोस् । मलाई हेर्न मन छ । मेरो प्रस्तावविना प्रधानमन्त्री भएर देखाउनोस् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री कसलाई बनाउने भन्ने टुंगो नलागेको तर आफूलाई एकचोटि देशको नेतृत्व गर्न मन लागेको बताए । आफूले प्रधानमन्त्री बन्न नपाए पनि काँग्रेससँगको गठबन्धन भने नछाड्ने उनको तर्क छ ।
‘हामीले गठबन्धनको बैठकमा अहिलेसम्म प्रधानमन्त्रीको विषयलाई लिएर चर्चा गरेका छैनौं’ दाहालले भने, ‘प्रधानमन्त्री पाए यही गठबन्धनमा बस्ने, नपाए नबस्ने भन्ने मेरो विल्कुल छैन ।’
आफूले प्रधानमन्त्री पद नपाउँदैमा काँग्रेससँगको गठबन्धन नतोड्ने दाहालले प्रतिवद्धता जनाएका छन् । कान्तिपुर टेलिभिजनसँग उनले भने, ‘म आम नेपाली जनतालाई भन्न चाहन्छु, ‘हिजो पनि नेपाली कांग्रेसले तपाई प्रधानमन्त्री हुनोस् भन्दा हैन, मैले जनताको अगाडि एउटा कुरा भनिसकेपछि वाम छाडेर प्रधानन्त्रीका लागि आउँदिनँ भनेको थिएँ ।’
माओवादी अध्यक्ष दाहालले एकचोटि प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्न चाहेको समेत खुलासा गरे । उनले भने, मलाई आर्थिक क्रान्ति, विकास र सुशासनको नेतृत्व गर्न मन छ । देशको नेतृत्व गर्न मन छ । गठबन्धनभित्र समझदारी बन्यो भने मैले जिम्मेवारी लिन्छु । जिम्मेवारी लिन्नँ भन्नेचाहिँ होइन ।’
(पुष्पकमल दाहालसँगको अन्तर्वार्ता कान्तिपुर टेलिभिजन फायर साइडमा सोमबार राति ९ बजे प्रसारण हुनेछ)