अजरबैजान एअरलाइन्सको विमान दुर्घटनामा रूस जिम्मेवार हुनसक्ने अमेरिकाको आशंका

पुस १३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अजरबैजान एअरलाइन्सको विमान दुर्घटनामा रूस जिम्मेवार हुनसक्ने अमेरिकाको आशंका

काठमाडौं । अमेरिकाले अजरबैजान एअरलाइन्सको विमान दुर्घटनाका लागि रूस जिम्मेवार रहेको हुनसक्ने बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले दुर्घटनाका लागि रूस जिम्मेवार हुनसक्ने प्रारम्भिक संकेत मिलेको बताउनुभएको हो ।

तर यस विषयमा भने उहाँले विस्तृत केही उल्लेख नगरेको बीबीसीले जनाएको छ । दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको उहाँको भनाइ छ ।

अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको अजरबैजान एअरलाइन्सको 'जे टु-८२४३' विमान बुधबार कजाखस्तानको अक्ताउ क्षेत्र नजिकै खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६७ जनामध्ये ३८ को मृत्यु भएको थियो । चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा रहेको विमानमा रूसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ । तर पछि उक्त विमान चेचन्यामा अवतरण नगरी क्यास्पियन सागरतर्फ मोडिएर कजाखस्तानतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

अमेरिकी आरोपबारे रूसले भने कुनै प्रतिक्रिया जनाएको छैन । तर रूसी नागरिक उड्डयन निकायले भने युक्रेनी ड्रोन हमलाका कारण चेचन्याको अवस्था निकै जटिल हुने गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । अजरबैजानका अधिकारीहरूले 'इलेक्ट्रोनिक जामिङ'का कारण विमानको जीपीएस प्रणाली प्रभावित भएको र त्यसपछि रूसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर दुर्घटनामा परेको जनाएका छन् ।

अजरबैजानले भने दुर्घटनाका लागि रूसलाई आरोप लगाएको छैन । तर अजरबैजानका यातायातमन्त्री रशाद नबियबले उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताउनु भएको छ । विमानमा कस्ता अस्त्र प्रयोग भएको थियो भन्नेबारे अनुसन्धान हुने उहाँको भनाइ छ ।



Enter Kantipur TV HD
Advertisement