अमेरिकाका २५ भन्दा बढी विश्वविद्यालयमा गाजा युद्धको विरोधमा प्रदर्शन

युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्यालेस्टिनी र इजरायली पक्षधरबीच हिंसात्मक झडप
वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाका २५ भन्दा बढी विश्वविद्यालयमा गाजा युद्धको विरोधमा प्रदर्शन

काठमाडौं । गाजा युद्धको विरोध र प्यालेष्टिनीको पक्षमा भइरहेको प्रदर्शनका कारण अमेरिकाका थुप्रै विश्वविद्यालयमा अध्ययन अध्यापन नराम्ररी प्रभावित भएको छ ।

लस एन्जलसको युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्यालेष्टिनी र इजरायली पक्षधर प्रदर्शनकारीबीच गएराति झडप नै भएको छ । क्याम्पस हाताभित्र प्यालेष्टिन पक्षधर विद्यार्थीले खडा गरेका अस्थायी शिविरमा डरलाग्दो हिंसात्मक घटना भएको र लगत्तै प्रहरीलाई बोलाइएको विश्वविद्यालयकी उपकुलपति मेरी ओसाकाले बताउनुभएको छ ।

यता न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीमा विश्वविद्यालयको एउटा शैक्षिक भवन कब्जा गरेर बसेका प्रदर्शनकारीलाई करिब २४ घण्टापछि प्रहरीले गिरफ्तार गरेको छ । न्यूयोर्क पुलिस डिपार्टमेन्टका अधिकारीहरू झ्यालमार्फत सिँढीको प्रयोग गर्दै प्रदर्शनकारीले कब्जामा लिएको ह्यामिल्टन हलभित्र प्रवेश गरेका थिए । प्रहरीले करिब एक सय जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ । कोलम्बिया यूनिभर्सिटी इजरायलविरोधी प्रदर्शनको मुख्य केन्द्रविन्दूका रूपमा रहँदै आएको छ । 

कोलम्बिया यूनिभर्सिटीका विद्यार्थीले  यही अप्रिल १८ देखि क्याम्पस हाताभित्रै अस्थायी शिविर खडा गरेर प्रदर्शन सुरु गरेका थिए । यो प्रदर्शनको लहर कम्तीमा २१ राज्यका २५ भन्दा बढी विश्वविद्यालयमा फैलिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । कोलम्बिया युनिभर्सिटीले कतिपय विद्यार्थीलाई निलम्बन गरेको छ भने प्रहरीले अहिलेसम्म विभिन्न विश्विद्यालयबाट एक हजारभन्दा बढीलाई गिरफ्तार गरेको छ । विश्वविद्यालय प्रशासनले प्रहरीलाई १७ मे सम्म क्याम्पसभित्र रहन आग्रह गरेको स्थानीय समाचार माध्यमले जनाएका छन् ।

प्रदर्शनकारीहरूले गाजामा युद्धबिराम गरिनु पर्ने र विश्वविद्यालयहरुले इजरायलसँग सम्बन्ध रहेका कम्पनीहरुमा गरेको लगानी फिर्ता लिनु पर्ने माग राख्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.