यो हो उत्कृष्ट दुईमा पर्न सफल बर्दिया अस्पताल

पुस २०, २०८० |कमल पन्थी
यो हो उत्कृष्ट दुईमा पर्न सफल बर्दिया अस्पताल

बर्दिया । ५० शय्याको बर्दिया अस्पताल सेवा प्रवाह र कार्यसम्पादनका आधारमा देशभरका प्रदेश अस्पतालमध्ये दोस्रो बनेको छ । जनशक्ति र उपकरण अभावका बीच पनि यो अस्पताल भक्तपुर अस्पतालपछि दोस्रो स्थानमा आएको हो ।

न्यूनतम मापदण्ड र सम्पादनको आधारमा यस वर्ष बर्दिया देशभरका प्रदेश अस्पतालमध्ये दोस्रो भएको छ । न्यूनतम सेवा मापदण्ड अन्तर्गत सुशासन र व्यवस्थापनमा २०, क्लिनिक, बहिरङ्ग सेवा, सुत्केरी सेवामा  ६० र फार्मेसी सेवामा २० अंकभार तोकिएको हुन्छ । ती सबैमा गरी ९६ प्रतिशत अंक प्राप्त गरेको भन्दै स्वास्थ्य सेवा विभाग उपचार महाशाखाले बर्दिया अस्पताललाई उत्कृष्ट दोस्रो प्रदेश अस्पताल घोषणा गरेको हो । विगतमा यहाँ सामान्य बिरामी पुगे पनि रेफर गरिन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।

स्वास्थ्य सेवा, सरसफाइ, व्यवस्थापन, इमरजेन्सी, बहिरङ्ग सेवा, फार्मेसी, प्रयोगशालाको सुधारसँगै बेरुजु समेत नदेखिएकोले अस्पतालले ९६ अंक ल्याएर उत्कृष्ट भएको हो । पहिलो स्थानमा ९७ अंकका साथ भक्तपुर अस्पताल छ । जनशक्ति अभावमा पनि अस्पताल सेवा प्रभाव उत्कृष्ट घोषणा हुँदा व्यवस्थापन पक्ष भने सन्तोषजनक छैन ।

पछिल्लो चार वर्षदेखि यो अस्पताल उत्कृष्ट अंक ल्याएर पहिलो र दोस्रो हुँदै आएको छ । सुत्केरी र शल्यक्रियामा यस अस्पतालले बर्सेनि २ हजार बढीलाई सेवा दिँदै आएको छ । अस्पतालमा क्लिनिकल मात्रै नभई सपोर्ट सर्भिसको पनि व्यवस्था छ ।

जिल्ला अस्पतालमा आईसीयूका लागि दक्ष चिकित्सकसहित स्टाफ नर्सको दरबन्दी आवश्यक छ । पर्याप्त जनशक्ति उपलब्ध भए अझ राम्रो सेवा दिन सकिने चिकित्सक बताउँछन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।