इलाम र बझाङ उपनिर्वाचको सबै तयारी पूरा, सवारी साधन चल्न पाउने

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम र बझाङ उपनिर्वाचको सबै तयारी पूरा, सवारी साधन चल्न पाउने

इलाम । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा शनिबार हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थलहरूमा कर्मचारी र सामग्री पुगिसकेको छ भने शनिबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।

शुक्रबार साँझसम्म सबै मतदान केन्द्रको तयारी सकिएको मतदान अधिकृतहरुले जनाएका छन् । यसैबीच, इलाम नगरपालिका ५ को सप्तमाई वाङ्मय मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिलालाई जिम्वेवारी दिइएको छ। ५ सय ४५ मतदाता रहेको केन्द्रलाई नमूना मतदान स्थलका रुपमा अगाडि बढाउने मतदान अधिकृत तारा श्रेष्ठले बताउनु भएको छ ।

इलाम क्षेत्र नम्बर-२ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १ सय ४९ वटा मतदान केन्द्र छन् भने १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैगरी, बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं -१ अन्तर्गतका ७४ मतदान स्थलमा ९३ मतदान केन्द्र छन्  । उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा -१ मा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता छन् ।

यसैबीच, निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम-२ र बझाङको प्रदेश सभा (१) मा सार्वजनिक सवारीसाधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले निर्धक्क भएर मतदान गर्न सबैमा आग्रह गरेको छ । आयोगले यसको प्रबन्ध मिलाउन गृह मन्त्रालय मार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.