प्याजमा सरकारको महँगो शुल्क, महँगीको मारमा उपभोक्ता

सरकारसँग छैन आयात प्रतिस्थापन र मूल्य स्थिर बनाउने योजना
वैशाख २५, २०८१ |सुमन पन्थ
प्याजमा सरकारको महँगो शुल्क, महँगीको मारमा उपभोक्ता

काठमाडौं । नेपालमै प्याज उत्पादनको अधिक सम्भावना छ । तर पनि प्याजमा भारतमै परनिर्भर हुनुपरेको छ । भारतले प्याज आयातमा रोक लगाउँदा नेपालको बजार नै प्रभावित हुन्छ । ६ महिनाअघि भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा त गरेको छ, तर, घरेलु उत्पादन नबढ्दा मूल्यमा भने कमी नआउने व्यवसायी बताउँछन् ।

प्याजको आयात प्रतिस्थापन गर्न सरकारले सिरहा, सप्तरी, रौतहट, रुपन्देही, बारा, बाँके, बर्दिया र झापामा २०६४ सालमै मिसन प्याज कार्यक्रम सञ्चालन गरेको थियो । करिब ६ लाख टन उत्पादन लक्ष्यसहित सुरु गरिएको कार्यक्रम सफल हुन सकेन । प्याज मिसन कार्यक्रम असफल भएपछि यसबारेमा सरकारले न थप योजना बनाएको छ, न मूल्य स्थिर बनाउने उपायबारे सोचको छ । बरु नेपालीलाई विदेश प्याज खान बाध्य बनाइरहेको छ ।

दिनहुँ आवश्यक पर्ने प्याजका बारेमा सरकार गम्भीर नभएपछि नेपाल भारतीय प्याज उपभोग गर्न बाध्य छ । तर त्यही भारतीय प्याज पनि कहिले रोकिने हो टुंगो हुँदैन । यसपटक पनि भारतले झन्डै पाँच महिना प्याज निर्यातमा प्रतिबन्ध लगायो । गत डिसेम्बर ८ मा लगाएको प्याज निर्यातको प्रतिबन्ध शनिबार मे ४ मा हटाएको छ । भारतकै प्याज खानु परे पनि नेपालीले सस्तोमा भने पाउँदैनन् । किनकि प्याजमा दोहोरो कर छ । पहिलो प्याज निर्यात गरेबापत भारतले ४० प्रतिशत कर लगाएको छ भने अर्कोतर्फ नेपाल सरकारले पनि प्याज आयातमा १३ प्रतिशत भन्सार र ९ प्रतिशत कृषि सुधार शुल्क लगाएको छ । व्यवसायी चण्डेश्वरप्रसाद साह भन्नुहुन्छ, ‘नेपालको उत्पादनले दुई दिनका लागि पुग्दैन । नेपालमा धेरैभन्दा धरै उत्पादन नगर्दासम्म बजार स्थिर हुँदैन ।’

नेपालमै उत्पादन बढाउने लक्ष्य असफल भए पनि गम्भीरता देखिएन

कुनै पनि वस्तु आयातमा चर्को शुल्क लगाउने भनेको त्यो वस्तु आयात नहोस् र नेपालमै उत्पादित त्यस्तै वस्तुको खपत बढोस् भन्नका लागि हो । तर सरकारले एकातिर नेपालमै प्याज पर्याप्त उत्पादनको कार्यक्रम सफलतापूर्वक चलाउन सकेको छैन भने अर्कातिर विदेशबाट आयात हुने प्याजमा शुल्क घटाउन पनि सकेको छैन । यसकारण नेपाली उपभोक्ता दोहोरो मारमा परेर महँगोमा प्याज खान बाध्य छन् ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिले नेपालमा करिब २० हजार हेक्टरमा प्याज खेती हुने गरेको छ र वार्षिक पौने तीन लाख टन प्याज उत्पादन हुन्छ । तर यो उत्पादनले राष्ट्रिय माग एक महिनालाई पनि धान्दैन । यही कारण विदेशबाट प्याज आयात गर्नुपर्छ तर त्यो पनि सम्बन्धित देशले कतिबेला बन्द गर्छ थाहा हुँदैन ।

भन्सार विभागका अनुसार गत वर्ष मात्र ६ अर्ब ७५ करोड रुपैयाँको प्याज भारतबाट आएको छ । वार्षिक १८ करोड किलो प्याजको माग अपुग भए पनि सरकारले प्याज उत्पादन क्षेत्र विस्तारको कार्यक्रम सञ्चालन गर्न सकिरहेको छैन । नेपालमा नगदेबाली प्याजको सम्भावना उच्च छ । समस्या कहाँ छ र समाधान के हो किसानलाई बरु थाहा छ । तर सरकार थाहा नपाए झै गरिरहेको पर्साका किसान सन्दीप कुमारको दाबी छ ।

सरकारले हरेक वर्षको बजेटमा कृषिबाटै १४ खर्बको वैदेशिक व्यापार घाटा कम गर्ने, युवा पलायन रोक्ने र रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गर्छ । तर सरकारको घोषणा व्यवहारमा नदेखिँदा मुलुक आत्मनिर्भर बन्न सकिने उत्पादनमा पनि परनिर्भर बनिरहेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।