सदनको गतिरोध हटाउने विषयमा सभामुख र पाँच दलका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहीन

संसदीय छानबिन समिति गठनमा सत्ता र प्रतिपक्षको आ-आफ्नै अडान
वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सदनको गतिरोध हटाउने विषयमा सभामुख र पाँच दलका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहीन

काठमाडौं । सत्तारुढ तथा प्रतिपक्षी दलहरु आ-आफ्नो अडान नछाडेपछि सदनको गतिरोध हटाउने विषयमा आज बसेको पाँच दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । वैशाख २८ गतेका लागि बोलाइएको सदन व्यवस्थित र बिना गतिरोध सञ्चालन गर्ने विषयमा आज सभामुख देवराज घिमिरेले सत्ता र विपक्षी पाँच दलको बैठक बोलाउनुभएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको अडान दोहोर्‍याएको थियो। सत्तारुढ दलहरु नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो अडान दोहोर्‍याएका थिए । कांग्रेसको मागअनुसार व्यक्तिकेन्द्रित भएर छानबिन समिति गठनमा सहमत हुन नसकिने सत्तारुढ दलको भनाइ छ ।

सभामुख घिमिरेले भने सदनलाई प्रभावकारी बनाउने र विना अवरोध अघि बढाउन दलहरु नै जिम्मेवार हुनुपर्ने बताउनुभयो । गृहमन्त्री लामिछानेले आगामी संसद बैठकमा आफूले आफ्ना विषयमा उठेका विषयमा बोल्न पाउनु पर्ने माग राख्दै संसद् सचिवालयमा पत्रसमेत दर्ता गराउनु भएको छ ।

लामिछानेले ५ दलको बैठकमा पनि आफ्ना संसदमा बोल्न दिन प्रमुख प्रतिपक्षी कांग्रेससँग आग्रह गर्नुभएको थियो । संसद्को हिउँदे अधिवेशनमा पनि कांग्रेसले सहकारी बचत अपचलनमा संसदीय छानबिन समिति गठनको माग राख्दै अवरोध गरेको थियो । संविधान र कानुनभन्दा माथि कोही नरहेकाले छानबिन समितिबाट टुंगोमा पुग्नुपर्ने कांग्रेसको माग छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.