सल्यानको नेत्रलाल बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

पुस ३, २०८० |सरिता चलाउने
सल्यानको नेत्रलाल बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

सल्यान । सल्यानको सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयमा विद्यार्थी, स्थानीय र जनप्रतिनिधिले तालाबन्दी गरेका छन् ।

शारदा नगरपालिका-४ साहुटोलमा रहेको सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयमा बेथिती र अनियमितता भएको भन्दै विद्यार्थी, स्थानीय बुद्धिजिवी र जनप्रतिनिधिले सोमबार दिउँसो तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि विषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या भएको, प्रिन्सिपल नभएको, आफू निकट प्रमुख ल्याएर चरम भ्रष्टाचार, ब्यतिथि भएको भन्दै प्रशासन शाखा र लेखा शाखामा तालबन्दी गरिएको स्थानीय अनिल भण्डारीले जानकारी दिए ।

छलफलका लागि पटक पटक प्रयास गर्दा पनि प्रशासनले वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उनको भनाइ छ । राजनीतिक आडमा शिक्षालयलाई तहसनसह बनाएर कमाइ खाने भाँडो बनाएको उनको आरोप छ । शिक्षालयमा भएका सम्पूर्ण गतिविधिहरु सार्वजनिक गर्नुपर्ने माग गर्दै आफूहरुका माग सम्बोधन नभएसम्म तालाबन्दी नखुल्ने भण्डारीले दाबी गरे ।

शारदा नगरपालिका - ४ का वडाध्यक्ष किशोर हमालले आफू उक्त शिक्षालयको सञ्चालक समितिको सदस्य भएकाले लामो समयदेखि शिक्षालयमा देखिएको समस्याका बारेमा छलफल गर्न खोजिए पनि जवाफदेही कोही नभएपछि विद्यार्थीले तालाबन्दी गरेको जानकारी दिए । आफूले शिक्षालयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकाय र प्रमुख जिल्ला अधिकारीलाई जानकारी तथा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नहुँदाको परिणाम तालाबन्दी भएको उनको भनाइ थियो ।

तत्काल विषयगत शिक्षकको व्यवस्था गरिनुपर्ने, शिक्षालयमा भइरहेको गतिविधि सार्वजनिक गरिनुपर्ने लगायतका माग राखिएको छ । विषयगत शिक्षक नहुँदा बहुप्राविधिक शिक्षालयमा पशु विज्ञानतर्फ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले पुरै कोर्स नपढी वार्षिक परीक्षा दिएका छन् ।

तेस्रो वर्षमा पढ्नु पर्ने ७ वटा विषयमध्ये अधिकांश विषयको पुरै पढाइ नसकिएको र कमर्सियल डेरी विषयको पढाई नै नभई वार्षिक परीक्षा दिएको विद्यार्थीको गुनासो छ । यस शिक्षालयमा सिभिल इन्जिनियरिङतर्फ प्रशिक्षकको अभाव नभए पनि पशु विज्ञानमा भने प्रशिक्षकको अभाव छ । 


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।