एमबीबीएसको छात्रवृत्ति कोटामा कसले गर्‍यो चलखेल ?

जेष्ठ २, २०८१ |नारायण किलम्बू
एमबीबीएसको छात्रवृत्ति कोटामा कसले गर्‍यो चलखेल ?

काठमाडौं । बंगलादेश सरकारले नेपाल सरकारलाई यो वर्ष चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस तथा बीडीएस छात्रवृत्ति अध्ययनका लागि २२ सिटको कोटा दिएको थियो । उक्त कोटामा चिकित्सा शिक्षा आयोगले मेरिटका आधारमा विद्यार्थीहरूको सिफारिस गर्‍यो । तर आयोगको सूची बंगलादेश दूतावास पुग्दासम्म १० जनाको नाम फेरिइसकेको थियो । आखिर कसले र कसरी गर्‍यो विद्यार्थीको नाम हेरफेर ?

बंगलादेश सरकारले यस वर्षका लागि चिकित्सा शिक्षाको एमबीबीएसतर्फ १९ र बीडीएसतर्फ ३ सिटको छात्रवृत्ति कोटा दिएको थियो ।  चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको मेरिटका आधारमा २२ विद्यार्थी सिफारिस गरेर पठाएको थियो । तीमध्ये १० जनाको नाम हेरफेर गरियो । छात्रवृत्ति कोटामा भएको हेरफेर र चलखेलबारे सोधीखोजी गर्न हामी अहिले भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगमा पुग्यौँ ।

आयोगको सिफारिस भएर आएको एक सातापछि अर्थात् माघ १७ गते शिक्षा मन्त्रालयले सबै नाम छात्रवृत्तिका लागि पठाउने निर्णय गरेको थियो । उक्त सिफारिस पत्रमा पनि आयोगले पठाएका सबै विद्यार्थीको नाम उही छ, फेरिएको छैन । 

शिक्षा मन्त्रालयले उक्त पत्र परराष्ट्र मन्त्रालयमा पठाएका थियो सोबारे थप बुझ्न हामी परराष्ट्र मन्त्रालय पुग्यौँ । सिफारिसको सूची चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय हुँदै परराष्ट्र पुग्दासम्म सही अवस्थामा देखिएको छ । तर, बंगलादेश सरकारले २० दिनअगाडि छात्रवृत्ति कोटामा परेका २२ जनाको नाम प्रकाशित गर्दासम्म १० जनाको नाम हेरफेर भइसकेको थियो । 

छात्रवृत्ति कोटाको कसले गर्‍यो त चलखेल ? प्रस्ट छ- यसमा उच्च तहकै संलग्नता छ । विद्यार्थीको भविष्य र भावनामाथि खेलबाड भएको यो गम्भीर विषयमाथि तत्काल छानबिन गरी  दोषीमाथि कारबाही गर्न आवश्यक छ ।

सम्बन्धित समाचार...

एमबीबीएसको छात्रवृत्ति कोटामा चलखेल र भ्रष्टाचार, न्यायको खोजीमा पीडित

एमबीबीएस छात्रवृत्ति सिफारिसमा भएको विवाद चाँडै समाधान गर्छौं : राजदूत चौधरी


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।