आरआरअगाडि शिक्षामन्त्रीको पुतला दहन (६ तस्बिर)

माघ १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
आरआरअगाडि शिक्षामन्त्रीको पुतला दहन (६ तस्बिर)

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुतला दहन गरेको छ ।

रत्नराज्य (आरआर) क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरुले शुक्रबार बिहान शिक्षामन्त्री खनालको पुतला दहन गरेका हुन् । उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए ।

यही निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घूस खान यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले विरोध जनाएका हुन् ।

शिक्षामन्त्रीको पुतला दहनपछि सञ्चारकर्मीहरुसँग एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाए । शिक्षामन्त्रीले जनक शिक्षालाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको उनको आरोप छ ।

अध्यक्ष पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने जनाए । सरकारको लगानीमा निर्माण भएका संस्थाहरु निजीकरण गर्दै दलालहरुलाई दिने चक्रव्यूह रचिएको भन्दै शिक्षामन्त्रीले आफ्नो पहिलो निर्णय नै जनतालाई भार बोकाउने निर्णय गरेको अध्यक्ष पराजुलीको भनाइ छ । पराजुलीले जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झालाई अनुसन्धान गरेर कारबाही गर्नु र व्यवस्थालाई सुधार गर्नुको ठाउँमा निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खाने खेल रचेको दाबी गरे ।

अध्यक्ष पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रहेका मन्त्रीहरुले जनताबाट कमिसन खाएर वर्गीय रसायन भत्काउने काम गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरे । उनले जनक शिक्षालाई बलियो, सशक्त र गरिब जनताका छोराछोरीको हातमा पुस्तक समयमै पुग्नेगरी काम गर्न आग्रह गरे । नागरिकता विवाद भएको मानिस, संघीयताविरोधी व्यक्तिहरु पनि मन्त्री भइरहेको भन्दै प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको रसायन कहाँ मिल्छ ? भन्दै प्रश्न गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement