नवलपरासी । प्रधानमन्त्रीले मल अभाव नभएको मात्र होइन समयमा यस वर्ष मल किसानलाई दिएको दाबी गरिहेका बेला धेरै स्थानका किसानले धानमा मल लगाउन पाएका छैनन् ।
सरकारी गोदाममा ४८ हजार टन मल थन्किँदा जिल्लाजिल्लाका किसानले यसपालि पनि पर्याप्त मल पाएका छैनन् । कतिसम्म भने नवलपरासीका किसानले धान गोडेर पनि मल हाल्न पाएनन् ।
अघिल्लो वर्ष मल अभाव हुँदा आगामी वर्षदेखि मलको आपूर्ति सहज हुने आश्वासन पाएका जिल्लाका किसानको यो वर्षपनि दु:ख उस्तै छन्। भारतीय सीमावर्ती क्षेत्रका केही किसानले भारतबाट लुकिछिपी मल ल्याएर हालेको भएपनि अधिकांश किसानले मल पाएका छैनन् । यसले सरकारले मल पुर्याएको भनेर गरेको दाबी माथि प्रश्न उठाएको छ ।
किसान खेति गर्ने समयमा मल नपाएपछि स्थानीय जनप्रतिनिधि समक्ष गुनासो र विरोध प्रदर्शन सम्ममा उत्रिए त्यसपछि जिल्लाका जनप्रतिनिधि लुम्बिनी प्रदेश सरकार समक्ष पुगेर माग गरे पनि माग अनुसारको मल मौज्दात नभएको बताएपछि किसान मात्र होइन जनप्रतिनिधिनै निरास हुन बाध्य भए ।
कृषि सामग्री लिमिटेडले जिल्लाका ७७ वटा सहकारी मार्फत मल वितरण गर्दै आएको छ । तर, माग अनुसारको मल केन्द्रबाटनै नआउँदा सहकारीलाई मल वितरण गर्न समस्या पर्दै आएको छ ।
प्रदेशमा मल वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनीका प्रादेशिक कार्यालय भैरहवाले भने केन्द्रबाट नै कम मात्रामा मल आउँदा पर्याप्त वितरण गर्न नसकिएको बताउँदै आएको छ ।
कृषि उत्पादन बढाउने र मल पुर्याएको दाबी गरेर नथाक्ने सरकारको भाषण र किसानले मल अभाव भोग्नु परेको दु:ख पनि मेल खाँदैन। पश्चिम नवलपरासीमा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने र १८ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डिएपी मलको माग छ । तर, आठ हजार मेट्रिक टन मात्र मलको आपुर्ति हुँदा वर्षेनी किसानले समस्या भोग्नु परेको छ ।
कृषिलाई उच्च प्राथामिकता दिने भने पनि किसानले भने समयमा मल र सिँचाइ दुबै पाउने गरेका छैनन् ।