काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजित २५ अर्ब ७० करोड रुपैयाँमध्ये हालसम्म ४ अर्ब १ करोड अर्थात् १६ दशमलव १० प्रतिशतमात्र खर्च गरेको छ ।
महानगरपालिका नगरसभाको १६औं अधिवेशनका क्रममा उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासमा १२ दशमलव २३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत र सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७ दशमलव ९२ प्रतिशत खर्च भएको छ ।
महानगरपालिकाले चालू वर्षमा १२ अर्ब ९० करोड रुपैयाँ राजस्व आम्दानीको लक्ष्य राखेकोमा पुस ११ सम्ममा ४ अर्ब ९ करोड रुपैयाँमात्र उठाएको छ । नगरसभाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रम हेरफेरसमेत गरेको छ । विनियोजित बजेटमा योजना संचालन गर्न नसकिने तथा बहुवर्षीय योजना अन्तगत सञ्चालन गनुपर्ने भन्दै महानगरपालिकाले संशोधन बजेटसमेत पास गरेको छ ।
नगरसभामा वडाअध्यक्ष र सदस्यहरुले महानगरलाई सुन्दर बनाउन सरसफाई, विजुली बत्ती, ढल व्यवस्थापनदेखि जेष्ठ नागरिक सेवा र कुचिकारको व्यवस्थापन गर्नसमेत माग गरेका छन् ।