धितोपत्र बोर्ड : ४ महिनादेखि नेतृत्वविहीन, ३० कम्पनीका १९ अर्बको सेयर निष्कासन रोकियो

छनोट भएका उम्मेदवारको अन्तर्वार्तामै अलमल, राजनीतिक चलखेलको आशंका
वैशाख २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
धितोपत्र बोर्ड : ४ महिनादेखि नेतृत्वविहीन, ३० कम्पनीका १९ अर्बको सेयर निष्कासन रोकियो

काठमाडौं । धितोपत्र बोर्डमा चार महिनादेखि अध्यक्ष पद खाली रहँदा सार्वजनिक निष्कासन, हकप्रद निष्कासनसँगै थप सार्वजनिक निष्कासन रोकिएको छ । अहिले ३० वटा कम्पनीको १९ अर्ब बराबरको सेयर निष्कासन रोकिएको छ ।

धितोपत्र बोर्ड पुस २१ गतेदेखि अध्यक्षविहीन छ । सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरे पनि समितिले छनोटमा परेकाहरुसँग प्रस्तुति र अन्तर्वार्ता लिन सकेको छैन । जसका कारण धितोपत्र बोर्डले अध्ययन गरेर स्वीकृतिका लागि तयार भएका १६ कम्पनीको ११ अर्ब ४७ करोडको सार्वजनिक सेयर निष्कासन रोकिएको छ । त्यस्तै ५ कम्पनीको ३ अर्बको हकप्रद, ५ कम्पनीको म्युच्युल फन्डको ३ अर्ब ७५ करोड रुपैयाँबराबरका सेयर र ४ कम्पनीको २५ करोड बराबरको एफपीओले पनि अनुमति पाउन सकेको छैन ।

अध्यक्ष पदमा आवेदन दिएकामध्ये कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छनोटमा परेका छन् । जसमध्ये कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा प्राधिकरणका पूर्वअध्यक्ष, अधिकारी र श्रेष्ठद्वय बोर्डकै निर्देशक हुन् ।

प्रस्तुति र अन्तर्वार्ताका आधारमा अब तीन जनाको छनोट हुने भए पनि छनोट समितिले अहिलेसम्म उनीहरुको प्रस्तुति र अन्तर्वार्ता लिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.