काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा नेपालले महत्त्वका साथ उठाउँदै आएको र बहुप्रतिक्षित मानिएको श्रम सम्झौताको पुनरावलोकन भने नहुने भएको छ । कतारसँग १९ वर्ष पुरानो श्रम सम्झौता पुनरावलोकन गर्ने नेपाल सरकारको इच्छा भए पनि कतारी पक्ष सकारात्मक नभएको हो ।
नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । यो सम्झौता पुनरावलोकन गर्न नेपालले पहल गर्दै आएको थियो । तर कतारी पक्ष श्रम सम्झौता पुनरावलोकनका लागि अझै तयार नदेखिएपछि राजाको भ्रमणका क्रममा कुनै समझदारी नहुने भएको हो ।
श्रम सम्झौता पुनरावलोकनबाहेक राजाको भ्रमणका क्रममा कम्तिमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । युवा तथा खेलकुदको क्षेत्रका सहयोग र वैज्ञानिक अनुसन्धानसम्बन्धी दुईवटा समझदारी गर्ने तयारी छ । त्यस्तै कला, संस्कृति र शिक्षाका साझेदारीका विषयमा सहमति हुँदै छ ।
त्यस्तै नेपालको राष्ट्रिय समाचार समिति र कतारको सरकारी संस्थाबीच समन्वय गर्ने विषयमा पनि समझदारी हुँदै छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले कतारका राजाको नेपाल भ्रमणका क्रममा आप्रवासी कामदारका लागि श्रम सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ । कतारमा आप्रवासी श्रमिकहरुले सामना गरिरहेको गम्भीर दुर्व्यवहारलाई सम्बोधन गर्ने यो क्षणलाई सदुपयोग गर्न ह्युमन राइट्स वाचले सुझाएको हो ।
यता सरकारी उच्च अधिकारीहरुले भने भोलि प्रधानमन्त्री पुष्पकमल दाहालसँग हुने भेटवार्तामा कतारमा कार्यरत श्रमिकको चौबीस घण्टे बिमा, नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने र काम गरी फर्किएका श्रमिकलाई पुनर्स्थापनामा सहयोग गर्ने जस्ता विषयमा छलफल हुने जनाएका छन् ।
प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत्, पूर्वाधार, आधुनिक रंगशाला निर्माण र पर्यटनमा लगानी गर्न कतारी पक्षसँग आग्रह गर्ने तयारी गर्नुभएको छ ।
यो पनि...
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?
कतारी राजाको भ्रमणमा सार्वजनिक बिदा
कतारका राजा नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने
कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत
कतारका राजा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजासँग राष्ट्रपति पौडेलको आग्रह