तिम्रो धड्कनको सम्बोधन महसुस गरिरहेछु
म यतिबेला
ठीक भन्यौ तिमीले– “जीवन कविता होइन रहेछ"
यही यथार्थको आयतनमा
लम्पसार पर्दै आत्मसमर्पण गर्दैछु
त्यो भूगोलभन्दा कतै पर उभिएर
अस्ताउँदो बुख्याँचा म,
ठीक भन्यौ तिमीले– जीवन कविता होइन रहेछ
नजोतिने रहेछ कविताले खेत
नभरिने रहेछ कविताले रित्तो भकारी अनि खलियानहरू
नबल्ने रहेछन् कविताले राहतका चुलाहरू
फुल्ली लोड नहुने रहेछन् मालबाहक ट्रकहरू
र दूर–दराजका बस्तीहरूसम्म
नपुग्ने रहेछन् भोकका भ्याक्सिनहरू
मात्र तिम्रा क्रान्तिका कविताले…
तिमीले भनेकै थियौ सरकार,
तिमीले भनेकै थियौ –
तिम्रो कविताले भत्किएको भित्तो लिप्न सक्दैन
तिम्रो कविताले मेटिएको कित्ता नाप्न सक्दैन
तिम्रो कविताले मरेको न्याय बिउँताउन सक्दैन
तिम्रो कविताले हारेर सपना जिताउन सक्दैन ।
तिमीले भनेकै थियौ– आउ, फर्क !
तिमीले नबनाए कसले बनाउँछ?
तिम्रोघरअगाडिको त्यो बूढो चौतारो
तिमीले नसारे कसले सार्छ ती जङ्गे पिलरहरू
र फेरि नाप्नु परे कसले नाप्छ त्यो सगरमाथाको उचाइ ?
कसले पुर्याउँछ ती विकट पहाडहरूमा
टोलाइरहेका आँखाहरूको लागि ‘आई ड्रप’ ?
आज यता फर्की हेर त– जसले घरको भित्ताभित्तामा
आगनको कित्ताकित्तामा
विकास र समृद्धिले
सूर्यको न्यानोले सेकाउँछु भन्दै थिए
अचानक सन्नाटा छाएको छ– गाउँगाउँमा, बस्तीबस्तीमा,
विश्वास र सपनाको पोखरीमा
कहिले जून डुब्दो छ
त कहिले सूर्य अस्ताउँदो छ ।
आउ, अब सँगै बालौँ
उठाएर ती लडेका टुकीहरू
सम्हालेर, पग्लेका ती मैनहरू
कोर श्रमका समर्पणहरू
चुहाएर यही माटोमा नयाँ रेखा
र जोख, जोडघटाउ गर्दै
तिम्रा सुख–दुखका तराजुहरू..
अनि हेर– ढल्दै गरेको साँझमा उज्यालो बटुल्दै गर्दा
फरस्टेड तिम्रो आमाको अनुहार
लेख “न्यू भर्सन” मा
तिम्रा क्रान्तिका कविता त्यतिबेला
झल्यास बिउँझन्छु– अदियाँमा साटिएको
जीवनको यो सपनाबाट
सहर्ष स्वीकार्दै
आफूलाई– देश छोड्ने
एक गद्दारको रूपमा !!
-जीवन लुइँटेल