इलामको सोयाकमा भएन खानेपानीको दिगो व्यवस्थापन

भाद्र १२, २०८१ |विप्लव भट्टराई
इलामको सोयाकमा भएन खानेपानीको दिगो व्यवस्थापन

इलाम । खानेपानीको दिगो व्यवस्थापन नहुँदा इलाम नगरपालिका वडा नम्बर ११ सोयाकका बासिन्दा समस्यामा छन् । पिउने पानीको अभावकै कारण बसाई सर्ने क्रम बढिरहेको यो गाउँमा पछिल्लो समय लिफ्टिङ गरेर पानीको व्यवस्था गरिए पनि भरपर्दो छैन ।

देउमाई नगरपालिकाको मंगलबारेबाट तराई झर्ने सडक खुलेपछि व्यवस्थित बसोबास सुरु भएको सोयाक गाउँमा पिउने पानीको अभावले स्थानीयलाई सास्ती छ । इलाम नगरपालिका र संघ सरकारको विषेश अनुदानमार्फत पाँच वर्षअघि दुई करोड ४७ लाख लागतमा डिपबोरिङ गरेर पानी निकालिएको थियो । तर त्यो प्रविधि असफल भएपछि लिफ्टिङमार्फत पानी वितरण गरिएको छ । तर पटकपटक मोटर बिग्रने गरेकाले बोकरै पानी खानुपर्ने दुख हटेको छैन ।

डिप बोरिङबाट तानेको पानी घरघरमा पुर्याउन धारा जोडिए पछि दंग परेका स्थानीयको खुुशी धेरै टिक्न सकेन । योजना सुरु भएको केही समयमै डिप बोरिङले काम गर्न छाडेको थियो । त्यसपछि नगरपालिकाले पाइपलाइन, ट्यांकीलगायतका पहिलेकै संरचना प्रयोग गरेर लिफ्टिङमार्फत पानी वितरणको व्यवस्था मिलायो । तर मोटरमा बिग्रीने समस्याले हैरान उपभोक्ता अब आफै रकम संकलन गरेर वैकल्पिक मूहान खरिदमा लागेका छन् ।

खानेपानीको अभावमा पछिल्लो वर्षमा यो गाउँबाट एक दर्जनभन्दा धेरै घरपरिवार झापा तथा अन्य क्षेत्रमा बसाइँ सरिसकेका छन् ।

यही गाँउ भएर देउमाई नगरपालिकाको मंगलवारे हुँदै मेची राजमार्गको रााकेदेखि तराई जोड्ने सडक बनेको छ । पाँचथर, ताप्लेजुङसमेत तराई झर्न यो सडक छोटो हुने भएकालेे सोयाक क्षेत्रमा पक्की संरचना बनिरहेका छन् । प्रसस्त उब्जाउ जमिन रहेको यो क्षेत्रमा पानीको दिगो व्यवस्थापन हुनसके सागसब्जी र फलफूल खेतीबाट मनग्ये आम्दानी लिन सकिने सम्भावना उत्तिकै छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement