दोलखाबाट हराएको मूर्ति नेपाल फर्किएपछि गृहजिल्ला लैजाने तयारीमा स्थानीय

प्रमाण जुटाए लैजान पाइने
माघ २०, २०८० |श्रृजना बास्तोला|केदार शिवाकोटी|सुन्दर शिल्पकार
दोलखाबाट हराएको मूर्ति नेपाल फर्किएपछि गृहजिल्ला लैजाने तयारीमा स्थानीय

काठमाडौं । दोलखा भीमेश्वर गुलकोट टोलबाट ३० वर्ष अगाडी चोरी भएका दुई वटा भैरवका मुकुट नेपाल फर्किएको छ । अहिले दोलखाका स्थानीय भैरवलाई आफ्नै गृह जिल्ला फर्काउने तयारीमा छन् ।  उनीहरूले दुईवटै भैरवलाई बाजागाजासहित नगर परिक्रमा गराएर भीमेश्वर मन्दिरको भण्डारणमा राख्ने तयारी गरेका छन् । पुरानै स्थानमा पुनस्थापनाको व्यवस्था नहुन्जेल पुरात्त्व विभागले ती मुकुटलाई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा सुरक्षित राखेको छ ।

भीमेश्वर वडा नम्बर २ गुलकोटमा बन्दै गरेको यो घर न्हूछे प्रधान खलकको आगम घर अर्थात् पूजा घर हो । जहाँबाट आज भन्दा ३० वर्ष अगाडी वर्ष दिनको अन्तरालमा  १६औँ शताब्दीका २ वटा भैरवका मुकुट हराएका थिए । स्थानीय भाषामा हाँथो भनिने देवता खासमा आकाश भैरव हुन् । कुल देवीलाई पूजामा बली चढाउन नमिल्ने भएकाले, कुलको रक्षा र बली पूजाका लागि यी भैरव राखिएका हुन् । 

दोलखाका राजा गोविन्द देवका ५ सन्तानलाई अंश बाँड्दा, अहिलेका यसका संरक्षक यज्ञकुमार प्रधानका जिजिबुवाको अंशमा परेका हुन् यी भैरव । यस्ता भैरव दोलखामा अन्य ७/८ वटा छन् । जसलाई जनै पूर्णिमा र इन्द्र जात्रामा सर्वसाधारणका लागि प्रदर्शनमा राखिन्थ्यो । यसको घाँटी त्यही छोडेर मुकुट मात्र ५० साल र ५१ सालमा चोरी भएका थिए । 

त्यसै बेला यज्ञकुमारले खोजीका लागि जिल्ला हुँदै काठमाडौंसम्म धाएर अपराध महाशाखामा निवेदन पनि दिएका थिए । तर कुनै खोजखबर भएन । पछिल्लो समय नेपालको हराएका मूर्ति खोज्ने अभियान नेपाल हेरिटेज रिकभरी क्याम्पेनसँग दोलखाका सम्पदा अभियान्ताले समन्वय गरेसँगै ३० वर्षदेखि हराएका भैरव अमेरिकाको डलास म्युजियमबाट नेपाल फर्काइएको हो ।

न्हूछे प्रधान खलकको पुरानो कुल घर यतिबेला पुनर्निर्माण भइरहेको छ। व्यक्तिको घरमा राख्दा सुरक्षा चुनौती रहने भन्दै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको छ । स्थानीयले भने दोलखामा बाजा गाजासहित नगर परिक्रमा गराएर उत्सवका रूपमा मूर्ति भित्र्याउने तयारी थालेका छन् ।

यतिबेला ती मुकुट छाउनीको राष्ट्रिय संग्रहालयमा राखिएका छन् । दोलखा बासीले माग दाबी गरी प्रमाण जुटाउन बाँकी छ । त्यसपछि मात्र उनीहरूले संग्रालयबाट मुकुट लैजान पाउने छन् ।

दोलखाका यी दुई मुकुटसँगै अमेरिकाबाट भक्तपुर हनुमानघाटको दुर्गाको मूर्ति पनि नेपाल ल्याइएको थियो । १८औँ शताब्दीमा बनेको १० हात भएको दुर्गाको मूर्ति अमेरिकी नागरिकको घरमा रहेको अवस्थामा भेटिएको थियो । सो मूर्तिलाई भने पुरातत्त्व विभागले राष्ट्रिय कला संग्रहालय भक्तपुर पठाएको छ । १९७० को समयमा चोरी भएको आशंका गरिएको मूर्ति कहिले प्रतिस्थापन गर्ने भन्ने यकिन छैन ।

त्यसैगरी ललितपुरको च्यासल बाट १९८० देखि १९९० को बिचमा हराएको उमामहेश्वरको मूर्ति पनि सोही दिन नेपाल ल्याई पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको थियो । उक्त मूर्ति अमेरिकाको ब्रुकलिन म्युजियममा रहेको थियो । यतिबेला यो मूर्ति पाटन म्यूजियममा राखिएको छ। उत्साहका साथ पाटनका बासिन्दाले मूर्तिलाई पाटन संग्रहालय पुर्‍याएकाका थिए ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।

Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।

Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।