न्यायमार्चले पाइएला त न्याय ? (भिडियो रिपोर्ट)

मेची-महाकालीदेखि काठमाडौंसम्म पैदलयात्रा
कानुन संशोधन र शक्तिशाली आयोग गठन गर्नुपर्ने पीडितको माग
माघ १६, २०८० |गणेशमान मुखिया
न्यायमार्चले पाइएला त न्याय ? (भिडियो रिपोर्ट)

झापा । तराई-मधेसका मिटरब्याजपीडितहरु गएको चैत १२ गते न्यायको माग गर्दै ११ दिनको पैदल यात्रा गर्दै काठमाडौं पुगे । तर काठमाडौंमा आन्दोलन गरेर सरकारबाट राहत पाउने आशा र अपेक्षा गरेकाहरु २९ हजार पीडितहरुमध्ये ५ हजारले मात्र राहत पाए । बाँकीले १० महिना बितिसक्दा पनि न्याय पाएनन् । यसैबीच अहिले पुन: मेची र महाकालीका मिटरब्याजपीडितहरु पैदललै न्यायका लागि दबाब दिन चितवन पुग्दै छन् । के अब यो न्यायमार्चले साँच्चै पीडितहरुले न्याय पाउलान् त ?

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले ‘न्याय मार्च’ सुरु गरेको छ । कञ्चनपुरको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो ।

झापाबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहा र कञ्चनपुरबाट प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् । न्याय मार्चका लागि झापासहित सुनसरी, मोरङ, धनुषा, रौटहटलगायत जिल्लाका मिटरब्याजपीडित काँकडभिट्टामा जम्मा भएका थिए ।

मिटरब्याजसम्बन्धी कानुन संशोधन र आर्थिक तथा सामाजिक अपराधका रूपमा स्थापित मिटरब्याज छानबिनका लागि शक्तिशाली उच्च आयोग गठनको मुख्य मागसहित आन्दोलन सुरु गरिएको अध्यक्ष कुशवाहाले जनाए ।

पूर्व र पश्चिमबाट पैदल यात्रा थालेका पीडितहरू चितवनमा भेला भई पैदलै काठमाडौं आइपुग्ने जनाइएको छ । देशभर ५ लाखभन्दा बढी मिटरब्याज पीडित रहेको आकलन गरिएको छ ।

यो पनि...

मिटरब्याजपीडितको गुनासो- सरकारले कानुन बनायो, हामीले न्याय पाएनौं


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।