एसीसी प्रिमियर कपमा नेपालको चौथो जित

साउदी अरब ६ विकेटले पराजित
वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी प्रिमियर कपमा नेपालको चौथो जित

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले समूह चरणका सबै खेलमा जित दर्ता गरेको छ । नेपालले आज साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले ६ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

टस जितेर नेपाली टिमका कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेपछि साउदीले पहिले ब्याटिङ गरेको थियो । पहिलो ओभरमै करण केसीले फैसल खानलाई ६ रनमा आउट गरे । साउदीका अब्दुल वाहिदले १६ बलमा ३७ रन बनाए । बाँकी खेलाडी भने सस्तैमा समेटिए । नेपालका करण केसीले दुई विकेट लिए भने अभिनाश बोहराको नाममा पनि दुई विकेट रह्यो । ललित राजवंशी र प्रतीश जिसीले एक-एक विकेट लिए ।

जवाफमा नेपालले सात ओभर दुई बलमा ७५ रन बनाएर लक्ष्य पुरा गर्यो । कुशल भुर्तेल शून्य, आशिफ शेख र कुशल मल्ल दुईदुई रनमा आउट भए । तर दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ३३ रनको साझेदारी गरे । दीपेन्द्र १७ रन बनाएर आउट भए । गुल्सन ३२ र रोहित १६ रनमा नटआउट रहे ।

साउदी अरबका इस्तिक अहमदले दुई विकेट लिए भने उसमान नजिब र वाजी उल हसनले पनि एकएक विकेट आफ्नो नाम गरे । नेपाल यसअघि नै समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

आजै भएको अर्को खेलमा हङकङले मलेसियालाई सात विकेटले पराजित गरेको छ । यो जितसँगै समूहको उपविजेता बनेर हङकङ सेमिफाइनल पुगेको छ । पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । उसका ओपनर जोडी सस्तैमा समेटिए । श्रविन मुनियन्डीले १८, अमहद फैजले ३२ र अकिल वाहिदले ३० रन बनाएका थिए ।

हङकङका अयुष शुक्लाले चार ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए। अतिक इक्वाल र अजिज खानले पनि दुईदुई विकेट आफ्नो नाम गरे ।

जवाफमा हङकङले १२ ओभर एक बलमा तीन विकेट मात्र गुमाएर जित दर्ता गर्यो । यो जितसँगै उसले नेट रन रेटमा सुधार गर्दै तालिकाको दोस्रो स्थानमा पुगेको हो । ३१ रनमा नै दुई विकेट गुमाए पनि हङकङका बाबर हयात र निजाकत खानले एक सय ९ रनको शतकीय पारी खेले । बाबरले ३५ बलमा ८३ रनको विश्फोटक इनिङ खेले । निजाकत ४७ रनमा अविजित रहे।

मलेसियाका पवनदीप सिंहले दुई विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । चार खेलमा तेस्रो हार ब्यहोरेको मलेसिया समूह चरणबाटै बाहिरिएको छ । आजको खेलसँगै कतार पनि बाहिरएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement