आईपीएलमा चेन्नई सुपर किंग्सको पाँचौं जित, हैदरावाद ७८ रनले पराजित

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा चेन्नई सुपर किंग्सको पाँचौं जित, हैदरावाद ७८ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले पाँचौं जित दर्ता गरेको छ । गएराति सम्पन्न यस सिजनको ४६ औं खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७८ रनले पराजित गरेको हो । यो जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले लगातार दुई खेलको हारमा पूर्णविराम लगाउँदै यो खेल जितेको हो । हैदरावादले यस सिजन पहिलो पटक लगातार दोस्रो खेल हार्‍यो । हैदरावाद अंक तालिकाको चौथो स्थानमा छ ।

यसै सिजन भएको अघिल्लो भेटमा हैदराबादले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो । चेन्नईले हिजो सो हारको बदला लियो । चेपक रंगशालामा हैदराबादले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय १२ रनको विशाल योगफल तयार पार्‍यो । 

चेन्नईका कप्तान रुतुराज गाइक्‍वाड शतक बनाउनबाट २ रनले चुके । उनले ५४ बलमा ९८ रनको सानदार इनिङ्स खेले । ड्यारिल मिचेलले ५२ रन बनाए । शिवम दुबे ३९ र मेहेन्द्रसिंह धोनी ५ रनमा अविजित रहे । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले समान १-१ विकेट लिए ।

जवाफमा २ सय १३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ दशमलव ५ बलमा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि एइडन मार्क्रमको ३२, हेनरिक क्लासेनले २० र अब्दुल समादले १९ रन जोडे । चेन्नईका लागि तुषार देशपाण्डे एक्लैले ४ तथा मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले २-२ विकेट लिए ।

जितपछि चेन्नई ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित हैदराबादले सामान अंक भए पनि नेट रनरेटका आधारमा चौथो स्थानमा छ ।आईपीएलमा आज दोस्रो स्थानको कोलकाता नाइट राइडर्सले छैटौं स्थानको दिल्ली क्यापिटल्सलाई स्वागत गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.