एसीसी प्रिमियर कप : समूहको अन्तिम खेलमा अपराजित रहँदै सेमिफाइनलमा जाने नेपालको लक्ष्य

वैशाख ५, २०८१ |खेल ब्युरो
एसीसी प्रिमियर कप : समूहको अन्तिम खेलमा अपराजित रहँदै सेमिफाइनलमा जाने नेपालको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालको प्रदर्शन राम्रो बन्दै गइरहेको छ । आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ । एक खेलअगावै समेमिफाइनल पुगेको नेपाल अब आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ ।

एसीसी प्रिमियर कपको समूह बीमा अप्रत्यासित नतिजा देखिएका छन् । कतारले मलेसियालाई हराएको छ भने साउदी अरेबियाले हङकङविरुद्ध सहज जित हात पारेको छ । यसले प्रिमियर कपमा प्रतिस्पर्धा बढेको संकेत त गरेको छ नै एसोसिएट देशहरुमा क्रिकेटको विकासलाई पनि प्रस्ट पारिरहेको छ ।

नेपाली क्रिकेट टिमले कतार र मलेसियाविरुद्ध संघर्ष गर्दा जारी प्रिमियर कपमा नेपालको प्रदर्शनमा प्रश्न उठ्न लागेको थियो । तर नेपालले समूहको बलियो विपक्षी हङकङलाई जसरी हराएको छ, नेपालको प्रदर्शन सुधारिएको देखिन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । त्यसैले, एक खेलअगावै नेपालले सेमिफाइनल यात्रा तय गरेको छ ।

जारी प्रतियोगितामै आसिफ सेखले एक हजार टी-ट्वेन्टी रन पूरा गरे । अहिलेसम्म पाँच अर्धशतक प्रहार गरिसकेका आसिफ एक हजार रन पूरा गर्ने चौथो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रसिंह ऐरी टी-ट्वेन्टी आईमा १५ सय रन पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।

यद्यपि नेपाली खेलाडीले ब्याटिङमा औसत प्रदर्शन मात्र गर्न सकेको छ । तीन खेलमा आसिफले एक सय २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ८४, रोहित पौडेलले ७१ र कुशल भुर्तेलले ६८ रन बनाएका छन् । बलिङमा नेपालले विपक्षीलाई दबाबमा राख्न सकेको छ । अलराउन्डर दीपेन्द्र विकेट लिने नेपाली खेलाडीमध्ये सबैभन्दा अगाडि छन् । उनले ६ विकेट लिँदा अविनाश बोहोराले ५ र ललित राजवंशीले चार विकेट लिएका छन् । मिडिल ओभरमा राम्रो बलिङ गरे पनि पावर प्ले र डेथ ओभरमा भने नेपाली बलरहरु निकै महँगो साबित भएका छन् ।

दीपेन्द्र नेपाली टिमबाट सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् । कतारसँगको खेलमा उनले कुशल मल्लको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड तोडेर आफ्नो नाम गरेका थिए । त्यही खेलमा दीपेन्द्रले एकै ओभरमा ६ छक्कासमेत प्रहार गरेर र २ पटक ६ बलमा ६ छक्का हान्ने पहिलो ब्याटर बने, जसबाट विश्व क्रिकेटको ध्यान आफूतर्फ खिच्न उनी सफल भएका छन् ।

प्रिमियर कपमा समूहका तीन खेलदेखि नेपाली टिम क्रमशः सुधारको गतिमा छ । मोन्टी देशाईको प्रशिक्षण टोलीमा ब्याटिङ र बलिङ कन्सल्ट्यान्ट आएपछि नेपाली टिमका अभावहरु पनि पूरा हुँदै छन् अब नेपालले आज (बुधबार) साउदी अरेबियाको सामना गर्नेछ । साउदी अरेबिया त्यस्तो देश हो जसले आफ्नो देशमा खेलको विकासका लागि हरतरहको कसरत गरिरहेको छ ।

हङकङलाई हराएर मनोबल उच्च भएका खेलाडी साउदीसँग खेल्दै छन् । साथै आज (बुधबार) को खेलमा जित दर्ता गरे साउदी पनि सेमिफाइनल पुग्ने सम्भावना छ । हिजो (मंगलबार) कतारसँग पराजित भए पनि ऊ अन्तिम खेलमा जित दर्ता गर्ने योजनामा रहनेछ । यसकारण पनि समूह चरणको अन्तिम खेल निकै प्रतिस्पर्धात्मक हुने पक्का छ । समूहको अन्तिमा खेलमा नेपालको लक्ष्य छ- अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाउने ।



Enter Kantipur TV HD
Advertisement