भ्यालेन्सियामाथि बार्सिलोनाको ४-२ गोलको जित

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्यालेन्सियामाथि बार्सिलोनाको ४-२ गोलको जित

काठमाडौं । स्पेनिस लालिगामा बार्सिलोनाले दश खेलाडीमा समेटिएको भ्यालेन्सियामाथि ४-२ गोलको जित हात पारेको छ । बार्साका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।

घरेलु टोली बार्साले खेलको २२ औं मिनेटमा फर्मिन लोपेजको गोलमार्फत अग्रता लिएको थियो । तर २७ औं मिनेटमा भ्यालेन्सियाका हुडो डरोले गोल गर्दै खेल एक-एकको बराबरी गरे । ३८ औं मिनेटमा पेपेलु ले पेनाल्टीमा गोल गरेपछि भ्रमणकारी टोली दुई एकले अघि रहेको थियो । तर पहिलो हाफको इन्जुरी समयमा जर्जी मेमर दास्भिली रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भ्यालेन्सिया दबाबमा आयो ।

दश खेलाडीमा झरेको फाइदा ३५ वर्षीय पोल्यान्ड स्ट्राइकर लेवान्डोस्कीले उठाए । ४९ औं मिनेटमा उनले बराबरी गोल फर्काए । ९२ औं मिनेटमा उनले नै बार्सालाई तीन एकको अग्रता दिलाए । इन्जुरी समयमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा बार्साले तीन अंक जोड्यो । लेवान्डोस्कीको सिजनको यो पहिलो ह्याट्रिक हो । जित हात पारे पनि बार्सा, लिगको उपाधि भने चीर प्रतिद्वन्दी रियाल मड्रिडलाई सुम्पिने नजिक छ । दोस्रो स्थानमा रहेको बार्साको ३३ खेलबाट ७३ अंक छ । जुन रियालको भन्दा एघार अंकले पछि हो । लिग लिडर रियालको ८४ अंक छ । भ्यालेन्सिया ४७ अंकसहित आठौं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.