एसियन कपको फुटसल छनोटमा भियतनामसँग नेपाल ५-शून्यले पराजित

आश्विन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
एसियन कपको फुटसल छनोटमा भियतनामसँग नेपाल ५-शून्यले पराजित

काठमाडौं । एएफसी एसियन कप फुटसल छनोटमा नेपालले लगातार दोस्रो हार बेहारेको छ। सोमबार मंगोलियाको उलनबटारमा नेपालले भियतनामसँग ५-शून्यको हार बेहोरेको हो ।

भियतनामले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । नेपालविरुद्ध पाथ चाउले गोल गर्दै भियतनामलाई सुरुआति अग्रता दिलाएका थिए । त्यसैगरी, नवौँ मिनेटमा लिन्ह डुओङले र १९ औं मिनेटमा त्रि गुएन मिन्हले गोल गरेपछि नेपाल पहिलो हाफमै ३-शून्यले पछि परेको थियो । भियतनामले दास्रो हाफमा पनि दुई गोल थप्यो । जहाँ २२ औं मिनेटमा क्वाङले गोल गरेका थिए भने अन्तिम ९ सेकेण्ड बाँकी रहँदा डुओङले व्यक्तिगत दोस्रो गोल गरे ।

यो हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । यता भियतनाम भने लगातार दुई जितसाथ एसियन कप फुटसलमा प्रवेश गरेको छ । यो समूहबाट लगातार दुई जितसँगै दक्षिण कोरिया पनि एसियन कपमा पुगेको छ ।

भियतनामले पहिलो खेलमा आयोजक मंगोलियालाई ६-१ गोल अन्तरले हराएको थियो । नेपालले समूहको पहिलो खेलमा दक्षिण कोरियासँग ५-१ को हार बेहोरेको थियो । नेपालले लगातार चौथो पटक एसियन कप फुटसलको छनोटबाटै बाहिरिएको छ ।

छनोटमा सहभागी आठ समूहका समान २-२ टोली अर्को वर्ष हुने एसियन कप फुटसलमा पुग्नेछन् । नेपालले भने अहिलेसम्म खेलेका सबै अन्तरार्षट्रिय खेलमा हार बेहोरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement