काठमाडौं । संसद्को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय हुनुभएको छ । संसद् सञ्चालनका विषयमा आज प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग गरेको छलफल सकारात्मक भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका लागि बालुवाटारमा बोलाउनुभएको हो । देउवासँगै बालुवाटारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र प्रमुख सचेतक रमेश लेखक पुग्नु भएको थियो । सदन चलाउने विषयमा सहमति खोज्न प्रधामन्त्री दाहालले कांग्रेसका शीर्ष नेतासँग आग्रह गर्नु भएको थियो । छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो। सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । तर सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ । दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहेपछि संसद्मा गतिरोध देखा परेको छ ।
प्रधानमन्त्री दाहालले सबैलाई विश्वासमा लिएर अघि बढ्न खोजेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । जेठ १ गतेको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । त्यसैका लागि प्रधानमन्त्री दाहाले संसद्को अवरोध खुलाउन सक्रियता देखाउनु भएको हो । आजै सभामुख देवराज घिमिरेले पनि आजै प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै हुनुहुन्छ ।