काठमाडौं । काठमाडौं-तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणमा देखिएका सबै अवरोध तत्काल समाधान गरिदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
राज्य व्यवस्था समितिको आज (शुक्रबार) बसेको बैठकले द्रुतमार्ग समयमै सम्पन्न गर्न आवश्यक सहजीकरणका लागि प्रधानमन्त्री कार्यालय तथा रक्षा र वन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडाका अनुसार बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गर्न भनेको छ ।
बैठकमा सदस्यहरुले निर्धारित समयमा द्रुत मार्ग सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।
समितिले दार्चुला-टिंकरलगायत सेनाले बनाउँदै गरेका सडकलाई पर्याप्त बजेट उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिएको छ । उक्त क्षेत्रमा काम गर्ने सबै सैनिकलाई जोखिम भत्ता उपलब्ध गराउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।