४७ जिल्लाका ३५० स्थानमा डढेलो, सरकारले अझै देखेन

प्राधिकरण भन्छ- क्षेत्राधिकार परेन, प्रधानमन्त्री भन्नुहुन्छ- गम्भीर छौं
वैशाख २०, २०८१ |विकास आचार्य|सुन्दर शिल्पकार
४७ जिल्लाका ३५० स्थानमा डढेलो, सरकारले अझै देखेन

काठमाडौं । काठमाडौं उपत्यका वरिपरिका डाँडामा लागेको डढेलो संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै हेर्ने हो भने पनि प्रस्ट देखिन्छ । तर सरकारले धुँवाको मुस्लोले सहर ढाकिसक्दा पनि त्यो डढेलो देख्न सकेको छैन ।

सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीहरु दिनदिनै राजनीतिका विषयमा अनेक छलफल गर्छन्, तर डढेलो र आगलागी नियन्त्रण गर्ने प्रभावकारी उपायको खोजी भने गरेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भन्नुहुन्छ म- गम्भीर छु । डढेलोले देशभरको वनजंगल मात्र सखाप पारेको छैन, बस्तीमा सल्किएर मानवीय क्षतिसमेत भइरहेको छ ।

डढेलो र आगलागी नियन्त्रण गर्न भन्दै नागरिक आगोमा होमिएका छन् र ज्यान गुमाइरहेका छन् । तर प्रधानमन्त्रीको गाम्भीर्य कस्तो खालको हो ? जसले उपत्यकाजस्तो सुगम ठाउँमै डढेलो नियन्त्रण गर्न सक्दैन ।

भक्तपुरका सबै सामुदायिक वनमा डढेलो लागिरहेको छ । सरकारी वनमा पनि डढेलो सल्किरहेको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार डढेलो निभाउने प्रयास पनि भइरहेको छ । जिल्लाको राष्ट्रिय प्राणी उद्यानमा गत शुक्रबारदेखि लागेको डढेलो पाँच दिनपछि मात्रै नियन्त्रणमा आयो । जबकि प्राणी उद्यानसम्म पुग्ने बाटो सहज छ ।

त्यस्तै गुन्डुको मन्थली र पाथिभरा मन्दिर आसपासको वन, पाइलटबाबा आश्रम क्षेत्रको डढेलो नियन्त्रणमा लिन हम्मेहम्मे पर्यो । त्यहाँसम्म पनि पक्की बाटोको सुविधा छ । तर डढेलो निभाउन सरकारी संयन्त्रको पर्याप्त प्रयास नै नभएको स्थानीय विश्वराम थापा बताउनुहुन्छ ।

स्थानीय कृष्ण थापा भन्नुहुन्छ, ‘सरकारको तयारी केही छैन । स्थानीय निकायलाई अधिकार पनि छैन । उपकरण पनि छैन ।’

ललितपुरको गोदावरी नगरपालिका वनहरुमा पनि तीव्र रुपमा डढेलो लागेका छन् । निभाउने प्रसास पनि नभएका होइनन् तर, ती सबै प्रयास सफल हुन सकेको छैन ।

गोदावरीको काब्रेछाप, कुमारी, चारघरे र महालक्ष्मी नगरपालिकाको ताप्लो सामुदायिक वनमा डढेलो दन्किरहेको छ । मंगलबार मात्रै ललितपुरको लेलेस्थित आनन्दवन अस्पताल परिसरको वनमा लागेको डढेलो निभाउने क्रममा दुई जनाले ज्यान गुमाए । करिब २० सुरक्षाकर्मी र स्थानीय बासिन्दा घाइते भए । अहिले पनि यहाँ डढेलोको जोखिम कायमै छ । अस्पतालका कर्मचारी निगरानी गरिरहेका छन् ।

यता काठमाडौंको दक्षिणकालीको वनमा पनि डढेलो लागिरहेको छ । सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहका विपत् व्यवस्थापन टोलीको सहयोगमा स्थानीय डढेलो नियन्त्रणमा रातदिन खटिएका छन् । तर नियन्त्रण भएको छैन ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला डढेलोको चरम चपेटामा छन् । चैतयता काठमाडौंको मात्रै ७५ हेक्टर वनमा डढेलो लागिसकेको छ । काँठ क्षेत्रका नागरिक डढेलोको विपद्सँग संघर्ष गरिरहेका छन् । घनाबस्ती पनि धुँवाले ढाकिएका छन् । तर संघीय सरकार मौन छ । प्राकृतिक स्रोत संरक्षण विज्ञ सुन्दर शर्मा यसलाई विडम्बना ठान्नुहुन्छ । ‘यो विडम्बनापूण हो । अन्य ठाउँ झन् विकराल छ । विदेशतिर भने सरकारको पूर्ण ध्यान त्यसतर्फ केन्द्रित हुन्छ,’ शर्माले कान्तिपुर टेलिभिजनसँग भन्नुभयो ।

यता गृह मन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भने डढेलो नियन्त्रण आफ्नो क्षेत्राधिकार नरहेको भन्दै प्रदेश र स्थानीय सरकारतिर देखाएर पन्छिने गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भन्नुहुन्छ, ‘डढेलो नियन्त्रण हाम्रो काम होइन । हामीले गर्ने काम गरिरहेका छौं ।’

अहिले देशभर ४७ जिल्लाका ३५० स्थानमा डढेलो लागेको छ । नियन्त्रणमा संघीय सरकारको ध्यान पुगेको छैन । सरकारी निकायहरु एकले अर्कोलाई देखाएर जिम्मेवारीबाटै पन्छिँदै आएका छन् ।

देशभर डढेलो सल्किँदा पनि नियन्त्रण गर्ने दायित्व चाहिँ कसको ? केही राम्रो काम हुँदा जस लिन तँछाड-मछाड गर्ने सरकारी निकाय जिम्मेवारीबाट किन पन्छिरहेका छन् ? सरकारले किन जिम्मेवारी बोध गर्न सकेन ? हाम्रो प्रश्न यही हो । डढेलो निकै ठूलो भएकाले अहिले यो नियन्त्रण गर्ने कुरा स्थानीय सरकारको बुताभन्दा बाहिर छ ।

प्रदेश सरकार पनि अधिकार नभएको राग अलापिरहेको छ । प्रधानमन्त्री गम्भीर छु भन्नुहुन्छ तर ठोस पहल केही गरेको देखिँदैन । सीमित स्रोत साधन भएको सुरक्षा निकाय र स्याउला बोकेका जनताले ज्यानै जोखिममा राखेर नियन्त्रण प्रयास गरिरहँदा प्रधानमन्त्रीको गाम्भीर्य ठिट लाग्दो छ ।

यो पनि...

देशका ३,९८५ स्थानमा डढेलो, कहाँ कति क्षति ?

डढेलोबाट डोल्पामा ६ जनाको मृत्यु, ८,७३० हेक्टरमा क्षति

पाल्पाको हेक्लाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा २४ घरगोठ जले

अग्निपीडितको घर मधेश प्रदेश सरकारले बनाउँछ : मुख्यमन्त्री यादव


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।

Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।