सुदूर र कर्णाली : प्रदेश सरकार गठनमा विलम्ब, हलो अड्काउने को ?

चैत्र २६, २०८० |कमल पन्त|टेकराज जोशी
सुदूर र कर्णाली : प्रदेश सरकार गठनमा विलम्ब, हलो अड्काउने को ?

सुर्खेत । सत्तारुढ दलहरुले केन्द्रीय तहमा गरेको गठबन्धनलाई प्रदेशमा कार्यान्वयन गर्न समस्या भएको छ । केन्द्रले नै प्रदेशको भागबन्डा टुंग्याए पनि त्यसको कार्यान्वयन गर्न प्रदेशहरुमा समस्या देखिएको हो । जसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ सरकार गठनमै ढिलाइ भएको छ ।

कुनै पनि हालतमा कर्णालीको मुख्यमन्त्री नछाड्ने दाबी गरेको माओवादीले केन्द्रीय नेतृत्वको चौतर्फी दबाबका बीच २१ गते मुख्यमन्त्री छोड्यो । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको दबाबपछि राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भए । तर मुख्यमन्त्रीले राजीनामा दिएको ६ दिन पुगिसक्दा पनि कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस हुन सकेको छैन । कर्णालीमा दाहाल र जनार्दन शर्माबीचको विवाद, सभामुखमा र शक्तिशाली मन्त्रालयहरु माओवादीको दाबी र दलहरुको आन्तरिक किचलोजस्ता कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो ।

४० प्रदेशसभा सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ जना प्रदेश सदस्यको समर्थन आवश्यक छ । गठबन्धनसँग माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीका एक गरी २४ जना सांसद छन् । तर दलहरुबीचको आन्तरिक विवादका कारण नयाँ सरकार बन्न सकेको छैन । ‘सत्ता साझेदार दलहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भएकाले सरकार गठनमा अलिकति ढिलाइ भएको हो,’ नेकपा एमालेका कर्णाली प्रदेश सभाका सचेतक टेकराज पछाईंले भने ।

सुदूरपश्चिममा पनि नेपाली कांग्रेसका कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद समाधान हुन नसक्दा नयाँ सरकार गठनमा ढिलाइ भएको छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन २७ सांसद चाहिन्छ । तर नागरिक उन्मुक्तिले साथ नदिए दुवै पक्षसँग बहुमत पुग्ने अवस्था छैन । सुदूरपश्चिममा सरकार गठनका लागि दलहरु नागरिक उन्मुक्ति पार्टीको निर्णयलाइ पर्खेर बसेका छन् ।

सत्ता गठबन्धनले सुरुमा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । तर विवाद बढ्दै गएपछि समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय गठबन्धनले गरेपछि समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीका लागि दौडधुपमा छन् ।

अहिले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ मुख्यमन्त्री लागि गठबन्धनभित्रै लबिइङ गरिरहेकी छिन भने रेशम चौधरी कमल शाहकै नेतृत्वलाई पुनः दोहोर्‍याएर उन्मुक्तिका पाँचजना मन्त्री कायमै राख्ने अडानमा छन् । उन्मुक्तिको विवाद कायमै रहे ठुलो दलको हैसियतमा फेरि मुख्यमन्त्री कांग्रेस बन्छ वा के हुन्छ भन्ने अन्योल छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।