नागरिक उन्मुक्तिमा चुलियो किचलो, अध्यक्ष रञ्जिताको निर्देशन- प्रदेश सरकारबाट फिर्ता हुनू

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
नागरिक उन्मुक्तिमा चुलियो किचलो, अध्यक्ष रञ्जिताको निर्देशन- प्रदेश सरकारबाट फिर्ता हुनू

काठमाडौं । सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र किचलो देखिएको छ ।

प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने अध्यक्ष रञ्जिता श्रेष्ठको निर्णय छ भने संरक्षक रेशमलाल चौधरीले भने फिर्ता नलिने अडानसँगै पार्टीभित्र किचलो देखिएको हो ।

नाउपा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा अस्ति बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । तर प्रदेश सांसदहरु संरक्षक चौधरीको इसारामा सरकारमा सहभागी हुँदै समर्थन जनाइरहेका छन् ।

यसैबीच आज (शुक्रबार) अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश संसदीय दललाई निर्देशन दिएकी छन् ।

उनले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता चौधरीलाई निर्देशन दिँदै पत्रमा भनेकी छन्, ‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटी बैठकले २०८०/१२/१४ गते पार्टी कार्यालय टीकापुर कैलालीमा बसेको बैठकको निर्णयअनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोहीबमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु । अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’

उसो त टीकापुरमा बसेको बैठकको निर्णय नाउपाका केन्द्रीय संस्थापक सदस्यद्वय लक्ष्यबहादुर चौधरी र लक्ष्मणकिशोर चौधरीले आफूहरुलाई मान्य नहुने भन्दै आज (शुक्रबार) विज्ञप्तिसमेत जारी गरेका छन् । चौधरीद्वयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टीको मिति २०८०/१२/१४ गते टीकापुरमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठकमा भएको निर्णयप्रति हाम्रो समर्थन नरहेको घोषणा गर्दछौं ।’

नाउपाको टीकापुरमा बसेको बैठकले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरु सहभागी थिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा अहिले नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् । उनीहरु संरक्षक रेशमको निर्णयमा मन्त्री बनेका हुन् । एकजना प्रदेशसभा सदस्य कैलाश चौधरी रञ्जिताको निर्णयको पक्षमा छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन जुटाउनुपर्नेछ ।

यो पनि...

नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो

नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्-श्रीमतीको शक्ति संघर्ष, पार्टीले उठाएका मुद्दा नै विसर्जनतर्फ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement