काठमाडौं । गृह मन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिबाहेक खटाइएका सबै व्यक्तिगत सुरक्षाकर्मीलाई चौबीस घण्टाभित्र सम्बन्धित कार्यालयमा फिर्ता गराउन र त्यसको जानकारी गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले आज दुवै प्रहरीका मुख्यालयलाई पत्र लेखेर कार्यविधिविपरीत परिचालित सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको हो । त्यस्तै, गृहले विशिष्ठ व्यक्तिहरुको जिल्ला भ्रमणलगायत कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा-पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिएको छ ।
मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयपछि यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ ।