बिजनेस नहुँदा राष्ट्रिय सभा सञ्चालन गर्नै अप्ठ्यारो

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
बिजनेस नहुँदा राष्ट्रिय सभा सञ्चालन गर्नै अप्ठ्यारो

काठमाडौं । सरकारको बेवास्ताको परिणाम संघीय संसदको दुवै सदनले बिजनेस बिहिन भएर बस्नुपरेको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता धमलाले प्रतिनिधि सभामा केही समयका लागि बिजनेस देखिएपनि आगामी चैत्र १५ गतेको बैठकपछि राष्ट्रिय सभा बिजनेसविहीन हुने बताए । प्रतिनिधि सभामा ९ वटा विधेयक विचाराधिन रहेको अवस्थामा सोही उपर बैठकमा छलफल हुनसक्ने उनले बताए ।

तर राष्ट्रिय सभालाई संसदको क्यालेण्डर बनाउनका लागि समेत कार्यसूचीमा राख्न योग्य विधेयक र विषयको समेत अभाव छ । आगामी बैठक शून्य समय विशेष समय दिएर लम्ब्याउनुपर्ने देखिएको छ । हप्तादिन भित्र प्रतिनिधि सभाले विधेयक नपठाए वा सरकारले विधेयक दर्ता नगरे राष्ट्रिय सभाको बैठक नै बस्न नसक्ने अवस्थामा पुगेको हो ।

२४ वटा विधेयक विचाराधिन अवस्थामा रहेको संघीय संसदमा तत्काल एउटा विधेयक मात्रै पारित हुने अवस्थामा छ । राष्ट्रिय सभाको प्रतिवेदनसहित प्रतिनिधि सभामा आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित हुने अवस्थामा छ । बाँकी २३ वटा विधेयक संघीय संसदको विभिन्न समितिमा विचाराधिन छन् । सबै विधेयकहरु समितिमा छलफलकै क्रममा रहेका छन्, कुनैपनि विधेयक पारित भएर फुल हाउसमा जाने अवस्थामा छैनन् ।

गत माघ २२ गतेबाट शुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशन र राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशनको यतिका दिनसम्म आइसक्दा पनि विधेयक पारित गर्ने सन्दर्भमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन । संसदको पुरानै नियतिको रुपमा रहेको संसद अवरोधको श्रृङ्खला चलिरहेकै छ भने दलहरुको आपसी दाउपेच र सरकार गठन, पुनर्गठनहरूले पनि विधेयक निर्माण र छलफलमा असर पुर्‍याइरहेको छ ।

विधेयक अधिवेशनको रुपमा मानिने चालु अधिवेशनमा पनि विधेयकहरु पारित हुन नसक्दा संघीयता कार्यान्वयन नै चुनौतीपूर्ण अवस्थामा रहेको छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको दुवै सदनमा जम्मा २४ वटा विधेयक रहेको बताए । जसमध्ये प्रतिनिधि सभामा २३ वटा र राष्ट्रिय सभामा एकवटा विधेयक रहेको जानकारी दिए ।

सहायक प्रवक्ता धमलाकाअनुसार प्रतिनिधि सभामा ९ वटा विधेयक विचाराधिन अवस्थामा छन् । त्यस्तै प्रतिनिधि सभाको विभिन्न समितिमा १२ वटा विधेयक रहेका छन् भने राष्ट्रिय सभाको समितिमा एउटा विधेयक छ । त्यसैगरी प्रतिनिधि सभामा पेश हुन बाँकी अवस्थामा दुई वटा विधेयक रहेका छन् । जुन भर्खरै दर्ता भएका विधेयकहरू हुन् भने संसदको चालु अधिवेशनमा प्रतिनिधि सभाले एउटा र राष्ट्रिय सभाले एउटा गरी जम्मा दुईवटा विधेयक पारित गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement