काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले श्रमिकमाथिको शोषण झनै वृद्धि भइरहेको निष्कर्ष निकालेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जिफन्टले श्रमिकमाथिको शोषण झनै बढेको जनाएको हो । जिफन्टले श्रम ऐन, २०७४ को दफा १० बमोजिमको रोजगार सम्झौता गर्दा समेत नियमित रोजगार सम्झौता गर्नुपर्नेलाई समयगत, कार्यगत गरी श्रमिकलाई मनोवैज्ञानिक रुपमा अनिश्चितता उत्पन्न गराउने काम भइरहेको भन्दै गुनासो व्यक्त गरेको छ । नियमित रोजगार सम्झौता गरी काममा लगाउने श्रमिकलाई तालिम र प्रशिक्षार्थी श्रमिककै रुपमा पारिश्रमिक र सुविधा समेतबाट वञ्चित गर्ने क्रम बढेको जिफन्टको निचोड छ ।
पत्रकार सम्मेलनमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रम कार्यालयलाई श्रम निरीक्षण गर्ने र हरेक वर्ष पुस मसान्तसम्ममा रोजगारदातालाई श्रम अडिट प्रतिवेदन पेश गर्न लगाउने अधिकार भए पनि श्रम तथा रोजगार कार्यालय, श्रम तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विभाग उदासिन बनेको आरोप लगाउनु भयो ।
उहाँले श्रम ऐनअनुसार बनाउनुपर्ने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, प्रतिष्ठानको आन्तरिक व्यवस्थासँग सम्बन्धित विनियमावली बनाउने प्रतिष्ठान अत्यन्त न्यून संख्यामा रहेको बताउनु भयो ।
रोजगारदाताले स्वयं श्रम अडिट गर्ने व्यवस्थाबाट श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, कार्यान्वयन हुने र श्रम बजारको अराजकतामा कमी आउने अपेक्षाअनुसार काम नभएको उहाँको भनाइ छ । यसैगरी, नियमित समयभन्दा लामो समयसम्म काममा लगाएको पारिश्रमिक श्रमिकले नपाई श्रमिक आपूर्तिकर्ताले लिएर श्रम शोषणलाई वैधानिकता दिने प्रवृत्ति मौलाएको जिफन्टका अध्यक्ष श्रेष्ठले जनाउनु भएको छ ।